
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १०
नेपाली काँग्रेसका केन्द्रीय सदस्इ विमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
पुर्वमन्त्रीसमेत रहेका नेता निधिले ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका हुन् ।
सञ्चार उद्यमी विश्वनाथ साहको आमाको देहान्तको अवसरमा आयोजित शुद्धि भोजमा सरिक हुन आएका नेता निधिले जनकपुरधाम विमानस्थलमा केही संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले विभिन्न चरणमा भएको छलफल भएपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेकोसमेत बताए ।
उनले यसका लागि भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरू गर्न सरकारलाई आग्रह पनि गरे ।
नेता निधिले भने, ‘विगत तीन वर्षदेखि जनकपुरधाम र अयोध्यालाई हवाई सेवामार्फत जोड्न सकिने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको भन्ने कुरा मैले जानकारी पाएअनुसार निजी क्षेत्रको बुद्ध एयर सातामा तीन दिन हवाई उडान भर्न तयार छ,’ प्रतिनिधि सभा सदस्य समेत रहेका निधिले भने, ’अब वायु सेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहलकदमी लिएर उडान अनुमति, पूर्वाधार निर्माण र भारत सरकारसँग आवश्यक सम्झौता गर्न जरूरी छ। यसका लागि म सम्बद्ध पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु ।’
उनले अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा (समुद्घाटन) गर्ने कार्यक्रम रहेको बताए । उनले जनकपुरधाम–अयोध्यालाई रामायण सर्किटमा जोड्नका लािग हरेक माध्यमलाई सदुपयोग गरेमा पर्यटनीयलगायत विभिन्न गतिविधिहरुमा समेत वृद्धि हुने बताए । उनले धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरूरी रहेकाले यसका लािग नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता बताए ।
उनले जनकपुरधाम र कैलाश मानसरोवरलाई जोड्नका लागि नयाँ सम्भावना खोजी गर्नुपर्ने र प्रचारप्रसारको पनि त्यतिकै जरूरी रहेको बताए ।