
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १०
धनुषा–महोत्तरीको सिमावर्ती क्षेत्र स्थित एक युवाको शव फेला परेकै दिन महोत्तरीमा पनि एक युवाकको हत्या भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा हत्या भएको युवकको हत्यारा पक्राउ नपरेपनि महोत्तरीमा भने हत्याको आरोपमा दुई जना भारतीय युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित हर्दिया बस्ने १९ वर्षिय बसन्त पासवानको दुई जना भारतीय युवकसँग घाँटीमा लगाउने सिक्रीको कारण विवाद भएको थियो ।
सोही विषयमा विवादले उग्ररुप लिएपछि भारतको बिहार मधुबनी जिल्लाको जयनगर बस्ने १९ वर्षिय दीपक मलिक र मधुबनीको साहारघाट बसबरिया घर भएका १८ वर्षिय अमित मलिकले छुरा प्रहार गरी बसन्तको हत्या गरेको थियो ।
हत्यापछि महोत्तरी प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी हत्याको आरोपमा दुई जनालाई सार्वजनिक गरेका छन् ।
महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक गिरीले महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद भारतीय युवाहरुसँग भएको विवादले उग्ररुप लिएपछि दीपक मलिक र अमित मलिकले छुरा प्रहार गरी बसन्तको हत्या गरेको बताए ।
बसन्तको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले मृतक पासवानलाई दुईजना मिलेर अमित मलिकले पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गर्दै निर्ममतापूर्वक हत्या गरेको खुलाए ।
मृतक बसन्तको हत्यामा प्रयोग गरिएको छुरा र उनले लगाएको लुगासमेत रक्तामम्य अवस्थामा महोत्तरी प्रहरीले मामाको घरबाट तथा सानीआमाको घर पछाडीबाट बरामद गरेको छ ।
पक्राउ परेका यी दुई भारतीय युवाहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताए ।