‘अपहरणशैलीमा कसैलाई कुटपीट गरेका छैनौँ ’
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १२
धनुषाको विदेह नगरमा नेकपा एमालेबाट निर्वाचित दाजुभाई भर्सेज अन्य राजनीतिक दलहरु एकजुट भएका छन् ।
स्थानीय तहमा दोश्रो पटक निर्वाचित भएका नगरप्रमुख बेचन दासले आलोचना गर्ने वित्तिकै आफन्तजन तथा कार्यकर्ता लगाएर अपहरणशैलीमा कुटपीट गर्ने गरेको आरोप लागिरहँदा उनले सो आरोपको भने उनले खण्डन गरेका छन् ।
धनुषाको विदेह नगरपालिकामा जनमत पार्टीका कार्यकर्तालाई अपहरणशैलीमा कुटपीट गरेको भन्दै नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक लखन दास र विदेह नगरप्रमुख बेचन दासमाथि आरोप लागेको छ ।
शुक्रबार साँझ जनमत पार्टी विदेह नगरपालिका वडा नम्बर ८ कमिटीका अध्यक्ष सुरेश मण्डललाई प्रमुख सचेतक लखन दास र नगरप्रमुख बेचन दासले अपहरणशैलीमा ज्यान मार्ने उद्देश्यले कुटपीट गराएको आरोप श्री मण्डल केवट सेवा आश्रमले लगाएकोहो ।
आश्रमका केन्द्रीय अध्यक्ष विपिन मण्डलले नगरप्रमुख बेचन दासका छोराले बुवा र काकालाई सार्वजनिकरुपमै गालीगलौज गरेको भन्दै उनका नगरप्रमुखका छोरा भजन दासलगायतकाले कुटपीट गरेको आरोप लगाए ।
तर एमाले मधेश प्रदेशका प्रमुख सचेतक लखन दास र नगरप्रमुख बेचन दासले आफुहरुमाथि लगाइएको आरोप निराधार रहेको दावी गरेका छन् ।
एमाले मधेश प्रदेशका प्रमुख सचेतक लखन दासले आफुहरुलाई सार्वजनिकरुपमै गालीगलौज गरेतापनि सोही विषयमा आफुले कसैलाई कुटपीट गर्नु हास्यास्पद रहेको बताए ।
प्रमुख सचेतक लखन दासले नेकपा एकीकृत समाजवादीका नेता राजकिशोर यादव रोहिताले राजनीतिक प्रतिशोध साध्नका लागि आफुहरुलाई फसाउन खोजेको आरोप लगाए ।
उनले भने, ‘आफुहरु विरुद्ध जनमत पार्टी, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली काँग्रेसलगायतका दलहरु मिलेर संयूक्तरुपमै सो घटनालाई अतिरञ्जित गरेको हो ।’
त्यस्तै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले जातिय विद्वेश फैलाउने गरी हामीहरुलाई जातिगत आधारमा हेप्न खोेजेको आरोप लगाए ।
उनले जातिय मञ्चमा सुरेश मण्डलले सार्वजनिक मञ्चबाटै आफुलाई गालीगलौज गर्दै तथानाम बोलेपछि शुभचिन्तकहरुले समान्यरुपमा सचेत गराउँदै स्थानीय थानामा लगेको बताए । तर आफुले भने कुनैपनि किसिमको कुटपीट नगरेको उनले बताए ।
उनले भने, ‘आफु दास जात रहेकै कारण जातिगतरुपमा सबै राजनीतिक दलका नेताहरु मिलेर विगतमा भएको स्थानीय तहको निर्वाचनको परिणाम उनीहरु विरुद्ध आएकाले काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमत पार्टीलगायतका दलका नेता तथा कार्यकर्ता मिलेर आफु विरुद्ध षड्यन्त्र गरेको हो । उनले अघि थप्दैँ भने, ‘तर आफुले कसैलाई कुटपीट नगरेको र कसैलाई कुटपीट गर्नका लागि उक्साएको पनि छैन ।’
तर मण्डल केवट सेवा आश्रमका अध्यक्ष विपिन मण्डलले भने नगरप्रमुख बेचन दास र प्रदेशसभा सदस्य लखन दासले सुरेश मण्डललाई कुटपीट गर्दै प्रहरी चौकी तिनकौरियामा बुझाएको दावी गरे ।
उनले गाली गलौज गरेपछि सुरेश मण्डललाई नगरप्रमुख बेचन दासका मान्छेहरुले घरबाटै अपहरण गरेको र ज्यान मार्ने गरी कुटपीट गरेको आरोप लगाए ।
सुरेश मण्डलले गत विहिबार जनकपुरधामस्थित मण्डल केवट सेवा आश्रमको बैठकमा नगरप्रमुख बेचन दास र प्रमुख सचेतक लखन दासलाई नामै किटान गरी गाली गलौज नगरेको उनले बताए ।
उनले भने, ‘सुरेश मण्डलले जाति उत्थान, विकास तथा संगठन मजबुत बनाउने सम्बन्धमा आफ्नो धारणा राखेको र सो कुरालाई नकारात्मकरुपमा नगर प्रमुख बेचन दास तथा प्रमुख सचेतक लखन दासले लिएकाले नगरप्रमुखका छोरा भजन दासले १०/१५ जना समुहमा उनलाई बफै र लवटोलीको बीचमा पर्ने भुतही गाछीमा अपहरणशैलीमा कुटपीट गरी सख्त घाइते बनाएको छ ।’ उनको उपचार जनकपुरधाम स्थित रामजानकी होस्पिटलमा भइरहेको उनले बताए ।
त्यस्तै एमालेका कार्यकर्ताहरुले विदेह नगरपालिका वडा नम्बर ६ स्थित एकराही बस्ने प्रदिपकुमार मण्डललाई पनि घरमै पसेर मरनासन्न हुने गरी कुटपीट गरेको उनले बताए ।
सुरेश मण्डलको अपहरण गरी कुटपीट गर्नु अघि एमालेका कार्यकर्ताहरुले सार्वजनिकरुपमा गालीगलौज गरेको भन्दै उनलाई स्थानीय प्रहरी चौकीमा बुझाउन खोज्दा झडप भएको थियो ।
सो झडपमा विदेह नगरपालिका वडा नम्बर ६ एकराही बस्ने रञ्जीत पासवान, भरत पासवान घाइते भएको थियो । उनीहरु नगरप्रमुख बेचन दासका कार्यकर्ता हुन् ।


