खोजवाणी संवाददाता
बारा, कार्तिक १४
बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नियन्त्रणमा लिएको छ ।
बारा प्रहरीले हत्या आरोपमा पक्राउ परेका ६ जनाको बयान लिने कार्य थालेको छ । बारा प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानकै क्रममा प्रिन्सिपल रुपेश सर्राफको हत्याकाण्डले नयाँ मोड लिएको हो ।
विवाहित रहेको प्रिन्सिपल सर्राफलाई उनकै प्रेमिकाले हत्या गराउनमा अर्का प्रेमीलाई सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बारा प्रहरीले जनाएको छ ।
कलैयास्थित बाल एकता बोर्डिंग स्कुलका प्रिन्सिपल सर्राफको हत्यामा एक महिलासहित ६ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाए अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा रहेको र सो महिलाका अर्का प्रेमीले सर्राफको हत्या गरेको हुनसक्ने शंका व्यक्त गरे ।
प्रहरी उपरीक्षक काफ्लेले विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् भने सो पुरूषले नै सर्राफलाई ती महिलासँगको प्रेम सम्बन्ध तोड्न बारम्बार चेतावनीसहित दबाब दिदै आएका थिए ।
प्रहरी उपरीक्षक काफ्लेले महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौँ २८ मा पनि सर्राफको हत्या गर्ने प्रयास गरेको बताए ।
प्रिन्सिपल सर्राफको हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको भन्दै पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि सर्राफको हत्या गर्न सहयोग गरेको बयानबाट पनि पुष्टि भएको उनको भनाइ छ ।
यस घटनासम्बन्धमा आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बारा प्रहरीको तयारी छ ।
सोमबार दिउँसो साढे १२ बजे तर्फ स्कुल नजिकै सडकमा मोटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्याक्तिहरुले गोली हानेर फरार भएका थिए ।
३५ वर्षिय सर्राफको छाती र पेटमा गरी तीन राउन्ड गोली लागेपछि उनी घाइते भइ ढलेको थियो । स्थानीयवासीहरुले तत्कालै उनको उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।



