
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १४
हमासको आक्रमणमा परी इजरायलमा मारिएका दुई नेपालीको शवको पहिचान खुलेको छ । शवको पहिचान भएसँगै नेपाल ल्याउने सरकारले तयारीसमेत थालेको छ ।
इजरायलमा अध्ययनको शिलशिलामा गएका धनुषाका आनन्द साहसहित दुई नेपालीको शव पहिचान खुलेको हो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ६ स्थित सपहीका आनन्द साह र सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकारको शव पहिचान भएको हो ।
दुबैको शव पहिचान भएको नेपाली राजदुताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’ उल्लेख गरिएको छ ।
इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थी मारिएका थिए । यसमध्ये ६ जना नेपाली विद्यार्थीको शव सरकारले ल्याएपनि अन्यको भने ल्याउन लागेको जनाइएको छ ।