खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १४

मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही कात्तिक २२ गतेबदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । यस अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ ।

यस अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकहरुको सहभागिता रहने ब्रह्मभुमी हेल्थ रिसर्च सेन्टरले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका स्थित तिरहुतिया गाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने छ भने यस सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजक संस्थाका संयोजक डा. राकेशकुमार सिंहले जनाएका छन् ।

ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, अष्ट्रेलिया, जर्मनीसहितका अधिकांश युरोपेली राष्ट्रहरूको सहभागिता रहने छ ।

माता जानकीको हजुरबुबा निमी आयुर्वेदका आँखा, कान र घाँटीका विशेषज्ञ भएको कारणले आयुर्वेदमा निमीतन्त्रको ठुलो महत्त्व भएको कारणले जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक जनकपुरधाममा गर्न लागेको आयोजक संस्थाको भनाइ छ ।

यस अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेदका विषयमा विभिन्न कार्यपत्रहरू आयुर्वेद विज्ञहरुले प्रस्तुत गर्ने जनाइएको छ ।

आयुर्वेद वर्तमान अवस्था तथा भविष्य एवं भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श गरिने उनले बताए ।