खोजवाणी संवाददाता
बारा, कार्तिक १५

निजी विद्यालयका एक सञ्चालक तथा प्रिन्सिपलको हत्या व्यक्तिगत आचरणको कारण भएको निष्कर्ष निकाल्दै आचरण सुधारका लागि स्थानीय प्रशासनले निर्देशन दिएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज अधिकारीले निजी विद्यालयका सञ्चालकहरूलाई आचरण सुधार गर्न निर्देशन दिएका हुन् ।

सोमबार कलैया स्थित बालएकता बोर्डिंग स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या भएको घटनामा जिल्ला प्रशासन कार्यालय बाराको ध्यानाकर्षण गराउन पुगेका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूलाई विद्यालयमा बालबालिका विद्यार्थीलाई आचरण सिकाउने विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरू आफू सही आचरणमा रहन निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज अधिकारीले भने, ‘विद्यार्थीलाई आचरण सिकाउने मान्छेले आचरण बेकाम गरेकोले रुपेश सरार्फको मृत्यु भएको हो, यो घटना कुनै शैक्षिक संस्था माथिको हमला हो भनेर गलत प्रचारबाजी नगर्नुहोला’ बाराका प्रजिअ अधिकारीले भने ‘भोलि घटना सबै सार्वजनिक भएपछि सायद तपाईहरुले यहाँबाट मुख छोपेर हिँड्नुहोला ।’

स्कुलका सञ्चालक सरार्फको हत्या भएको घटनालाई लिएर निजी बोडिङ्ग स्कुलका सञ्चालकहरूले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै बाराका प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाउन मंगलबार पुगेका थिए ।

सरार्फको हत्या घटनापछि विद्यालय सञ्चालकहरूले असुरक्षित महसुस गरिएको भन्दै विरोध स्ववरुप मंगलवार बारासहित मधेश भरकै शैक्षिक संस्थाहरुसमेत बन्द गराएका थिए ।

प्रजिअ अधिकारीले भने सरार्फको हत्या विशुद्ध निजी कारणले भएको र घटनामा कुनै आपराधिक गिरोहको संलग्नता नरहेको बताए ।

संचालक तथा प्रिन्सिपल सरार्फको हत्या परस्त्रीसँगको सम्बन्धको कारण भएको र परस्त्रीका आफन्तले यसअघि नै सरार्फलाई पटक पटक मार्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रजिअ अधिकारीले बताए ।

सरार्फको हत्या घटनामा ९० प्रतिशत अनुसन्धान टुङ्गिएको तर मृतको निजी मोबाइल फोन सेट नभेटिएकोले केही काम बाँकी रहे पनि बुधवार बिहान १० बजेसम्म घटनाबारे सबै सार्वजनिक हुने प्रजिअ अधिकारीले बताए ।