खोजवाणी संवाददाता
जनकपुर,कार्तिक १६
सत्तारुढ जनमत पार्टीका अध्यक्ष सिके राउतले आरती शाह प्रकरणको विषय संसदमा निरन्तर उठेको तर सुनुवाइ नभएको बताएका छन् ।
आज संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा बोल्दै विगत करिब दुई महिनादेखि धर्नामा बसेर आरतीकी आमा, बुवा, बहिनी र भाईलगायतकाहरु न्यायका लागि माइतीघरमा बसेर न्याय खोजिरहेपनि उनीहरुले अहिलेसम्म पनि न्यायको प्रत्याभुति नपाउनु विडम्बना रहेको बताए ।
‘टाइटानिक जहाज डुबेजस्तै डुब्दै छ’
सत्तारुढ जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल टाइटानिक जहाज डुबेजस्तै डुबिराखेको बताए ।
उनले देश डुबिराखेको संसदको कामबारबाहीले देखाइरहेको बताए ।
उनले भने, ‘म जनतासँग क्षमा माग्न चाहन्छु । र भन्न चाहन्छु–यो देश टाइटानिक डुबेजस्तै डुबिराखेको छ । यो डुबाउने अरु कोही होइन, यसका चालकहरु नै हुन् ।’
उनले कर्मचारी र नेता बाचेपनि जनता भने डुबिरहेको बताए ।
उनले भने, ‘जसले विदेशी इन्सुरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । उनीहरु आफूलाई बोट (डुङ्गा) जोगाइराखेका छन् ।
कर्मचारी र नेताहरुले बोट सुरक्षित राखिसकेका छन्, जनता डुब्ने तरखरमा छन् । तपाईंहरु कसरी बच्नुहुन्छ आफ्नो जोहो आफैँ गर्नुस् ।’
उनले संसदको सार्वभौम सत्ता जनप्रतिनिधिहरुमा नभइ प्रमुख तीन पार्टीका तीन नेताको हातमा रहेको पनि बताए ।
