खोजवाणी संवाददाता
सर्लाही, कार्तिक १७

सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी स्थित सडक छेउमा रोकिराखेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार रहेको जिल्लाको हरिवन नगरपालिका–११ बस्ने २८ वर्षिय मुकेशकुमार गुप्ता र सोही ठाउँका ३५ वर्षिय सुनीलकुमार गुप्ताको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको हो ।

लालबन्दी नगरपालिका वडा नम्बर १७ कालिन्जोरस्थित राजमार्गमा बिग्रेर रोकिराखेको बीआर०६जीडी३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश–२–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकसमेत रहेका मुकेशको टाउकोमा गम्भीर चोट लागेकाले प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि ल्याइएको थियो । तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

मोटरसाइकल पछाडि सवार रहेका सुनीलको पनि टाउको, चिउँडो, नाक र हातमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।