खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १७

धनुषा–सिरहालाई जोड्नका लागि डेढ किलोमिटर लामो दुरीको झोलुङ्गे पुलको निर्माण कार्य तिव्ररुपमा हुँदैछ ।

धनुषा–सिरहाको सिमा क्षेत्र रहेको कमला नदीमा पुल नहुँदा लामो दुरीको सडक यात्रा गर्नुपर्ने हुन्छ भने आफ्नै भूमिमा आवतजावत गर्नका लागिसमेत भारतको बाटो हुँदै घण्टौसम्म हिड्नुपर्ने बाध्यता रहेको छ ।

झोलुङ्गे पुल निर्माण कार्यले तिव्रता लिएसँगै स्थानीयवासी भने निकै खुसी छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ स्थित कठाल गाउँभन्दा पूर्व कमला नदी तटमा तिव्रगतिमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । झोलुङ्गे पुल निर्माणमा ४२ जना प्राविधिक र कामदारहरु खटिएका छन् ।

अनुमानित २८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको १५०१ मिटर लामो दुरीको झोलुङ्गे पुल बन्दैछ ।

सो झोलुङ्गे पुल सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण गर्दैछ । आगामी वर्ष असार महिनासम्ममा झोलुङ्गे पुल निर्माण गरी सुचारु गर्ने योजना रहेको ईन्जिनीयर विनोद कुमार मण्डलले जनाएका छन् ।

उनले निर्माण हुन लागेको झोलुङ्गे पूलमा एकै पटकमा २५०० जना मानिस चढ्न सक्ने क्षमताको रहेको बताए । उनका अनुसार १० वटा पिल्लर रहेको झोलुङ्गे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नम्बर १३ स्थित मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।

यही असोज महिनादेखि थालिएको झोलुङ्गे पुल निर्माण कार्य २०८१ असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बनिरहेको झोलुङ्गे पुल निर्माण भएपछि आवतजवातमा स्थानीयवासी समेतलाई आवागमनमा निकै सहज हुने छ भने छिमेकी मुलुकको बाटो प्रयोगमा समेत नहुने भन्दै स्थानीय संजीव मण्डलले छोटो दुरीको सडकमा झोलुङ्गे पुलले परिणत हुने बताए ।

पुल निर्माणसँगै बाहिरी तथा आन्तरिक पर्यटकहरुकोसमेत चहलपहल बढ्ने छ ।