खोजवाणी संवाददाता
काठमाण्डौ, कार्तिक १७

नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आज काठमाण्डौको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

१० वर्ष अघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको युएईलाई रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । भने ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।

काठमाण्डौमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्ने १८ टोली छनोट भएका छन् ।

टी–२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानको पनि स्थान सुरक्षित रहेको छ ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी–२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा आफ्नो स्थान बनाउनेछन् ।