खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १७

नेपाली विद्यार्थीलाई भारतका विभिन्न शैक्षिक संस्थामा छात्रवृत्तिमा अध्ययनका लागि सम्झौता भएको छ ।

आज एक समारोह बीच नेपाल भारत महिला मैत्री समाज काठमाडौं, नेपाल र गान्धी एजुकेशन ट्रस्ट कटीहार, बिहार, भारत तथा बुद्ध इंस्टीट्यूट अफ टेक्नोलोजी, गया, बिहार, भारत बीच शैक्षिक संस्थाहरुमा नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अनुसार गान्धी एजुकेशन ट्रस्ट, बिहार अन्तर्गत का शैक्षिक संस्थाहरुमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको लागि नेपाल भारत महिला मैत्री समाजको माध्यमबाट यस संस्थाले २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गर्ने छ । गान्धी एजुकेशन ट्रस्ट र नेपाल भारत महिला मैत्री समाज बीच यस संस्था अन्तर्गतका शैक्षिक संस्थाहरुमा नेपाल भारत महिला मैत्री समाजले छनोट गरी सिफारिश गरेका विद्यार्थीहरुलाई डिप्लोमा इन नर्सिङ कोर्स अध्ययका लागि ११ जनालाई पूर्ण छात्रवृत्ति तथा बिएस्सी इन नर्सिङ कोर्सका लागि ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको जनाइएको छ ।

त्यसैगरी नेपाल भारत महिला मैत्री समाज र बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजी बीच नेपाल भारत महिला मैत्री समाज ले रिकमेण्ड गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । यस सम्झौता अनुसार नेपाल भारत महिला मैत्री समाज बाट प्रस्तावित विद्यार्थीहरुलाई बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीले डिप्लोमा इन इञ्जिनीयरिङ कोर्स अन्तर्गत ११ जना लाई पूर्ण छात्रवृत्ति र ब्याचलर इन टेक्नोलोजी (बि.टेक) कोर्स अन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।

यो छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेण्डर बाट शुरू हुने भएको छ ।

नेपाल भारत महिला मैत्री समाजले जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्ने सपना आर्थिक अभावले बन्द नहोस् भन्ने उदेश्यका साथ भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरुसंग छात्रवृत्तिका लागि पहल गरेको जनाएको छ ।