खोजवाणी संवाददाता
जलेश्वर, कार्तिक १७

महोत्तरीमा बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित लक्ष्मीनियाका राजेन्द्र रामसहित उनका परिवारका सदस्यलाईसमेत स्थानीयहरुले बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको हो ।

कुटपिटबाट राजेन्द्र रामकी श्रीमती ६५ वर्षीया इतरिया देवी, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम, बुहारीहरू सम्तोलियादेवी, सुन्दर देवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन् । गत बुधबार उनीहरुमाथि कुटपिट भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

राजेन्द्रका छिमेकी सन्तोष यादव, विनोद पासवान र केवल महतो नुनियाका परिवारले उनका परिवारका सदस्यमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट इतारिया देवीको टाउको फुटेको छ भने बायाँ हातसमेत मर्केको छ । उनको उपचार जनकपुरधामस्थित सहयोग हस्पिटलमा भइरहेको छ ।

पीडित परिवारका अन्य सदस्यहरु भने समान्य घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ । घटनापछि कुटपिटमा संलग्न रहेको आरोपमा झाँक्रीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष यादव र झाँक्री विनोद पासवान रहेको उनले बताए ।

अन्य दुईजना भने फरार छन् । फरार रहेकाहरुको खोजी कार्य भइरहेको उनले बताए । यता पक्राउ परेकाहरुमाथि बोक्सी आरोपमा कुटपिट गरेको मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ परेका दुईजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।