खोजवाणी संवाददाता
काठमाण्डौ, कार्तिक १८

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातको समयमा शक्तिशाली भूकम्प गएको छ ।

यससँगै सरकारी निकायसहितको टोली राहत तथा उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएको छ ।

गतराति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा व्यापक धनजनको क्षति भएको विवरणहरु सार्वजनिक हुन बाकी छ ।

यसैअनुसार राहत तथा उद्धारका लागि पहल भइरहेको छ भने यसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ गएका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन् ।

No description available.

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरेको छ ।

भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा. रोशन पराजुलीको नेतृत्वमा ९ सदस्यीय मेडिकल टिम घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जनाएको छ ।

भूकम्पपछि राहत तथा उद्धारका लागि जुट्नलाई एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछानेले पनि आह्वान गरेका छन् ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा करिब १२८ जनाको मृत्यु भएको छ भने रातको समयमा भूकम्प गएकाले जनधनको क्षतिको यकिन विवरण आउने क्रम जारी नै छ ।

No description available.