खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १९
नेपाल–भारतको सिमावर्ती क्षेत्र तर्फबाट जनकपुरधाम आएका भारतका पाँच जना युवालाई मदिरासेवन गरी कुटाकुट गरिरहेको अवस्थामा धनुषा प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा मदिरा सेवन गरी लठ भएका पाँच जना भारतीय युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्लाका २५ वर्षिय सोनु कुमार, सोही ठाउँका ३१ वर्षिय सुरज राय, २२ वर्षिय महेश कुमार सिंह, हिमांशु शेखर र प्रभाकर रहेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले मदिरा खाएर आफैँमा कुटाकुट गरिरहेको हुनाले उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले उनीहरु आफैमा कुटाकुट गर्ने क्रममा दुई जना घाइतेसमेत भएकाछन् । घाइते भएका प्रभाकरको उपचार चन्द्रकला अस्पतालमा भइरहेको बताए ।
उनीहरुलाई झगडा गरेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । उनीहरुलाई जिरोमाइलबाट प्रहरी पुगेर उनीहरूलाई गाडीसहित नियन्त्रणमा लिएको थियो ।



