
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २०
आरती साह हत्या प्रकरणमा माइत पक्षले ससुरा पक्षमाथि हत्या गरेको आरोप लगाउँदै न्याय दिनका लागि महिनौँसम्म गरेको संर्घषपछि बल्ल गृह मन्त्रालयले वार्ताका लागि बोलाएको छ ।
गृह मन्त्रालयले आरती साहका बुवा विनोदप्रसाद साहलाई वार्तामा बस्नका लागि एक पत्र पठाउँदै आधिकारिक प्रतिनिधि तोकेर वार्तामा पठाउन आग्रह गरेको हो ।
आरती साहको हत्या घटनाको विषयमा छानबिन गर्नुका साथै केही विषय सम्बोधन भएको भन्दै मन्त्रालयले पत्रमा उल्लेख गरेको छ, ‘यहाँहरुको गुनासो सम्बोधनार्थ थप छलफल गरी टुंगोमा पु¥याउनका लागि तपाईहरुको तर्फबाट आधिकारिक प्रतिनिधि पठाउनुपर्ने निष्कर्षका साथ घर फर्कने वातावरण तयार पार्ने गरी गृह मन्त्रालयमा आमन्त्रण गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोक बस्ने मोदीबाबु साहसँग विवाह गरेकी आरती साह जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । आरती साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षले दावी गर्दै आएको छ । आरती हत्या प्रकरणको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै माइत पक्षले राख्दै आएको छ । भने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र तत्कालिन प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जिल्ला प्रहरी कार्यालयमा दुव्र्यवहार गरेको र पीडकसँग मोटो रकम लिई आरती साह हत्या प्रकरण मुद्दालाई कमजोर पारेको आरोप लगाउँदै आएको छ ।
यही माग राख्दै काठमाण्डौ स्थित माइत घरमा पीडत पक्षका परिवारजनहरु न्यायको माग राख्दै १४४ दिनसम्म धर्नामा बस्दै आएका थिए ।