खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २०

मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई साक्षर बनाउनका लागि स्थानीय तहलाई गम्भीर हुन आग्रह गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित बृहत शिक्षा सम्मेलनमा बोल्दै मन्त्री यादवले साक्षर तर्फमा निकै पछाडी रहेकै कारण मधेश प्रदेश शिक्षा क्षेत्रमा कमजोर रहेकाले यस तर्फ जनप्रतिनिधिहरुलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

मन्त्री यादवले मधेश प्रदेश शिक्षामा कमजोर रहेकै कारण यहाँको शैक्षिक अवस्था र शिक्षालयको समेत दुरावस्था रहेको बताए ।

मन्त्री यादवले बृहत शिक्षा सम्मेलन स्थलमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई खोज्दै भने, ‘ मधेशको शिक्षा कमजोर हुनुको कारण जनप्रतिनिधिहरुले समेत शिक्षास्थल कस्तो हुनुपर्छ भन्ने तर्फ ध्यान नदिई नाफा नोक्सान तर्फ लाग्नु गलत हो ।’ मन्त्री यादवले यस कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहलाई खोज्दै जनकपुरधाम स्थित पगलाबाबा धर्मशाला क्षेत्र तर्फ रहेको राष्ट्रिय प्राथमिक विद्यालयको जग्गासमेत पर्ने गरी जनकपुरधाम उपमहानगरले बसपार्क बनाउन लागेको भन्ने कुरा गुनासोको रुपमा आएपछि सो बारे बुझ्न खोज्दा मेयरज्यूले मेरो क्षेत्राधिकार भित्र पर्ने हुनाले यस तर्फ बाधा अवरोध नगर्न भन्नु कति जायज होला, शिक्षा क्षेत्रका लागि ?’

जनकपुरधाम उपमहानगरका नगरप्रमुख मनोजकुमार साहले शिक्षास्थलको वातावरण र विद्यालय तथा बालबालिका विद्यार्थीप्रति गम्भीर नहुनु दुःखद रहेको उनको भनाई थियो ।

विद्यालयको छेउमा बस स्टेन्ड बनाएर विद्यालयलाई बाधा अवरोध पर्ने हुनाले यसबारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएपनि उनले आफुलाई मेरो क्षेत्राधिकारमा पर्ने हुनाले यसतर्फ तपाईले ध्यान दिनुपर्ने आवश्यकता नरहेको बताएको मन्त्री यादवले भने ।

मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी संघ, प्रदेश, स्थानीय तह र सरोकारवालाहरु बीच भएको बृहत शिक्षा सम्मेलनमा शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई सबैभन्दा पहिला साक्षर प्रदेश बनाउनुपर्ने आवश्यकता रहेको औल्याएँ ।

उनले मधेश प्रदेशलाई साक्षर बनाउनका लागि साक्षर अभियानमा संचालन गरिएको बताए । उनले शिक्षा जस्तो महत्वपूर्ण विषयमा हामी गम्भीर हुदैँ कानूनले दिएको अधिकारलाई प्रयोग गरी दिर्घकालिन योजना बनाएर शिक्षाका लागि काम गर्नुपर्ने तर्फ लागि परेको स्पष्ट पारे ।

मन्त्री यादवले मधेश प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा पनि साक्षर मधेश बनाउने योजना रहेको भन्दै उनले प्रदेशलाई साक्षर हुँदै साक्षर नेपाल घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले प्रदेशलाई साक्षर प्रदेश बनाउन प्रदेश सरकारले निती तथा कार्यक्रममा समेत समेटेको र मन्त्रालयले बजेट समेत छुटयाएकाले यसप्रति सरोकारवाला निकायहरु पनि गम्भीर हुनुपर्ने बताए । प्रदेशलाई साक्षर बनाउन दुई चरणमा कार्यक्रम संचालन गरिने भन्दै उनले प्रदेशको ऐन र नियमावली पनि चाँडै ल्याउने प्रतिबद्धता जनाए ।

यस कार्यक्रममा शिक्षा विकास निर्देशनालयका चूडामणि फुयाँलले प्रदेशलाई साक्षर बनाउन सबैभन्दा महत्पूर्ण भूमिका स्थानीय तहको रहेकोमा जोड दिए ।

चालू आर्थिक वर्षमा प्रदेशलाई साक्षर प्रदेश बनाउने सहितका १० बुँदे प्रतिबद्धता पत्रमा समेत सम्मेलनमा सहभागी स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी र प्रदेशका मन्त्री तथा सरोकारवालाहरुले हस्ताक्षरसमेत गरे ।