
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २१
जनकपुरधाम स्थित पसल बन्द गरी रातिको समयमा घर गईरहँदा करिब आधा दर्जनको समुहमा रहेको हतियारधारी समुहले अपहरणशैलीमा हतियार देखाई कुटपीट गर्दै नेपाली कागजमा औठाछाप तथा हस्ताक्षर गर्न लगाएको भन्दै धनुषा प्रहरी समक्ष जाहेरी दिएको करिब ६ महिना हुँदापनि कारवाही प्रक्रिया अघि नबढाउँदा थप समस्यामा परेको एक व्यवसायीको गुनासो छ ।
जनकपुरधाम स्थित पुल चोकमा रहेको मोटर्सपार्टस्को पसल करिब १० बजे रातिको समयमा बन्द गरेर हँसपुर स्थित मणिपट्टी गाउँमा रहेको घर जादैँ गर्दा पौडेश्वर स्थित जलाद नदीको छेउमा लगेर ति समुहले पेस्तोल देखाउँदै करिब २० थान नेपाली कागजमा औठा छाप लगाई हस्ताक्षर जबर्जस्त गर्न लगाएको रामआषिश दास कथवनियाले बताए । उनलाई अपहरण गरेर चोरीमा लग्दै कुटपीट गर्दै डर, त्रास तथा धम्कीसमेत दिँदै कागजातमा औँठा छाप तथा हस्ताक्षर गराएको उनले बताए ।
धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ स्थित मणिपट्टीका ६३ वर्षिय रामआशिष दासले गत बैशाख २५ गते नकाबधारी समूहले अपहरण गरी कागज गराएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको ६ महिना वित्दापनि प्रहरीले अनुसन्धानसमेत नगरी न्यायका लागि कुनैपनि किसिमको कारवाहीसमेत अघि नबढाएको भन्दै गुनासो गरेका हुन् ।
धनुषा प्रहरीले कारवाहीको लागि आश्वासन दिएपनि आफ्नो जाहेरी लिन नमानेको भन्दै पीडित दासले आज पत्रकार सम्मेलन गर्दै न्यायका लागि आग्रह गरेका छन् ।
पीडित रामआशिष दासले जनाएअनुसार वैशाख २५ गते राति करिब १० बजेको समयमा घर जादैँ गर्दा बाटोमा पर्ने जलाद नदीमा ओत लागेर बसेको अवस्थामा बाटो घेरी अपहरण गरेर बीच चौरीमा लगेर कुटपीट गर्दै पेस्तोल ताकेर देखाउँदै हत्या गर्ने धाकधम्की तथा त्रासदी वातावरणमा घरपरिवारलाई समेत हत्या गर्ने भन्दै नेपाली कागजमा जबर्जस्ती औठा छाप लगाएर हस्ताक्षर गराएको बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पूलचोकमा किराना तथा मोटरपार्टस्को पसलसमेत चलाउँदै आएका पीडि़त दास पसल बन्द गरी राति करिब १० बजे तर्फ घर जाने बेलामा अपहरण गरेको बताए ।
धनुषा प्रहरी अधिकारीले जाहेरी दर्ता गर्न आनाकानी गर्न थालपछि जिल्ला हुलाक कार्याल्य धनुषा मार्फत दर्ता गराएका थिए । सो जाहेरीमा पीडित दासले दिएको जाहेरीमा अपहरणमा हँसपुर नगरपालिका वडा नम्बर १ पौडेश्वर निवासी रामविलाश दास, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास संलग्न रहेको किटानी जाहेरी दिएका थिए ।
अपहरणमा परेको अर्को दिन नै उनले कपिलेश्वर प्रहरी पोष्टमा दासले उजुरी दिएका थिए । प्रहरी चौकीले कुनै वास्ता नगरेको भन्दै उनले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे निवेदन दर्ता गराउन पुगेपनि निवेदन दर्ता गर्न प्रहरीले नमानेको बताए ।
साउन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकील कार्यालय धनुषा मार्फत पीडित दासले हुलाक मार्फत जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरिएका थिए । जाहेरी दर्ता भएपनि धनुषा प्रहरीले भने घटनाको अनुसन्धान गर्ने भनेर भन्दापनि कुनैपनि किसिमले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै गुनासो गरे ।
पीडित दासले प्रहरीमा न्यायका लागि ६ महिनासम्म धाउँदासमेत केही नभएपनि अर्को पिडा भने थपिन छाडेन । नेपाली कागजमा औठा छाप तथा हस्ताक्षरण गराएको कागजातमा २० लाख रुपैयाँ ऋण लिएको भन्दै उनीमाथि धनुषा जिल्ला अदालतमा मुद्दा दिएपछि उनी थप पीडित बनेका छन् ।
पीडक रामविलाशले महोत्तरी वडा नम्बर ५ का ४२ वर्षिय अशोक कुमार ठाकुर मार्फत रामआशिष दासलाई २० लाख रुपैयाँ ऋण दिएको तमसुकको कागजात सहित धनुषा जिल्ला अदालत मुद्दा दिएका छन् ।
यस ऋणको बारेमा आफुलाई थाहासमेत नभएको र ति व्यक्तिलाई आफुले नचिनेको समेत उनले दावी गरे ।
तमसुकको कागजात पनि आफूले अदालतबाट समन नपाएपनि अदालतबाटै आफुले म बिरुद्ध धनुषा जिल्ला अदालतमा ऋण लिएर पैसा नतिरेको सम्बन्धि मुद्दा परेको पीडित दासले भने ।