खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २४

जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभामा समानुपातिक तर्फ रित्त रहेको स्थानमा प्रदेशसभा सदस्यको रुपमा सञ्जिलाकुमारी यादवलाई मनोनित गरेको छ ।

जसपा नेपालले मनोनित गरेपछि निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै प्रदेशसभा सदस्यमा सञ्जिलाकुमारी यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

यसअघि समानुपातिकको मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्यमा विन्दुकुमारी यादव थिइन् । तर उनको निधनपछि सो पद रिक्त रहेको थियो । समानुपातिक प्रदेशसभा सदस्य विन्दुकुमारीको गत भदौमा निधन भएको थियो ।

प्रदेशसभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ४० को उपदफा (२) र प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम ५ को बमोजिम जसपाबाट मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतमले राजपत्रमा सूचना जारी गर्दै जनाएका छन् ।

कार्तिक १३ गते जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट प्रदेशसभा सदस्यका लागि सञ्जिालकुमारी यादवको नाम सिफारिस गरेको थियो ।

प्रदेशसभा सदस्य निर्वाचित ४० वर्षकी यादव सिरहाको नरहा गाउँपालिका– २ की वासी हुन् ।