जनकपुर, कार्तिक २४
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्रकुमार सिंहले स्वास्थ्यकर्मीहरुले आफ्नो दायित्वबाट पञ्छिएकै कारण मधेश प्रदेशको स्वास्थ्य अवस्थामा खस्किदैँ गएको बताएका छन् ।

शनिबार जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देनालयको आयोजना भएको गोष्ठीमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले प्रदेशलाई स्वास्थ्य र समृद्धि बनाउनका लागि स्वास्थ्यकर्मीहरु गम्भीरतापूर्वक आफ्नो दायित्वबोध गर्नुपर्ने बताएका हुन् ।

स्वास्थ्य मधेश प्रदेशका लागि आर्थिक, जनशक्ति, भौतिक पूर्वाधारलगायतका चुनौती रहेपनि मुख्यतः स्वास्थ्यकर्मीहरुको इमान्दारिता र दायित्वबोधसहितको जिम्मेवारीपन नै मुख्य समस्या रहेको उनले बताए ।

आर्थिक वर्ष २०७९\०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री सिंहले मधेशमा स्वास्थयकर्मीहरुमा पनि राजनीति मौलाएकाले उनीहरु आफ्नो दायित्वबाट पञ्छिरहेको आरोपसमेत लगाए ।

स्वास्थ्यकर्मीहरुले आफ्नो दायित्वलाई बुझेर इमान्दारीतापुर्वक निर्वाहलाई आवश्यक रहेको उनको भनाई छ ।

No description available.

मन्त्री सिंहले भने, ‘ स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रलाई चलायमान र समृद्धी बनाउन के हुन्छ र के गर्नुपर्छ भनेर छलफल गरेर कार्ययोजना बनाइ अघि बढेमा मधेशको स्वास्थ्य क्षेत्रले फड्को मार्नेछ, तर त्यसको लागि स्वास्थ्कर्मीले खेल्नुपर्ने भुमिकाप्रति गम्भीरतासहित अघि बढ्नु पर्छ ।’

उनले मधेशको समग्र क्षेत्रमा बेथिती रहेको भन्दै हाम्रै कारणले मधेश पिछड्नुमा करिब ६० प्रतिशत दोषी रहेको बताए । उनले हामीमा घरमै बसेर तलब खाने प्रवृत्ति मौलाएकाले आफ्नो पेसाप्रति हामी इमान्दार हुन नसकेको बताए ।

उनले अबदेखि मन्त्रल्लयले पनि राम्रो काम गर्नेलाई स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने घोषणा गरेको बताए ।

उनले प्रत्येक जिल्लामा रहेको अस्पताललाई एक सयदेखि दुई सय शैय्यासम्मको व्यवस्था हुने र कुनैपनि विरामीलाई अन्यत्र रेफर र उपचार अभावको नाममा फिर्ता गर्न नपाइने बताए ।

यस कार्यक्रममा सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रोत्साहनसहित सम्मान गरिएको थियो ।