
खोजवाणी संवाददाता
रौतहट, कार्तिक २७
रौतहटमा लुटेराहरुको एक समुहले लाखौँको धनमाल लुटपाट गरेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन् । सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन् ।
आइतबार राति करिब ४ जना भन्दा बढी लुटेराहरूको एक समुहले चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको रौतहट प्रहरीले जनाएको छ । घरको मुलगेट फोडेर प्रवेश गरेका लुटेराहरुले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्।
लक्ष्मीपूजाका लागि राखिएको १ लाख ४५ हजार रुपैयाँ, १४ तोला सुन, ५४ तोला चाँदी लुटेराको समूहले लगेको पीडित परिवारजनले जनाएको छ । घाइते दुवै महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
यता रौतहट प्रहरीले भने लुटेरा समूहको खोजी भइरहेको जनाइएको छ ।