
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २९
डकैती गरेको आरोपमा दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेका छन् ।
महोत्तरीमा केही साताअघि हतियार देखाएर लाखौँ रुपैयाँको धनमालसहित लुटपाट गरेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका २ बस्ने ३२ वर्षिय शक्ति पासवान र ३३ वर्षिय अजय पासवानलाई पक्राउ गरेका छन् ।
पक्राउ परेका आरोपित दुबैजना डाँकालाई प्रहरीले चलाएको गोलीबाट घाइते भएकाले उनीहरुको उपचार जलेश्वर स्थित प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आरोपित दुवै डाकालाई नियन्त्रणमा लिने क्रममा दुवै जनाको बाँया खुट्टामा प्रहरीले गोली चलाउनु परेको थियो । सोक्रममा आरोपित दुवै जना घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
महोत्तरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा सर्लाहीको संग्रामपुरमा महोत्तरी प्रहरीको गाडी बिग्रेको थियो । सोही क्रममा सर्लाही प्रहरीको गाडी सहयोग लिई महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ स्थित ल्याइएको थियो । राति करिब १० बजे महोत्तरी प्रहरीको अर्को भ्यानमा दुवैजनालाई राख्ने क्रममा हतकडीसहित हामफालेर भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिनका लागि तीन राउण्ड गोली प्रहार गर्दा उनीहरुको बायाँ तिघ्रा र एक जनाको खुट्टामा गोली लागि घाइते भएपछि भाग्न नसकेको र त्यसपछि पुनः पक्राउ गरिएको थियो । र उनीहरु घाइते भएपछि प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।’
गत कार्तिक २० गते राति करिब २ः३० बजेको समयमा करिब ८ जनाको संख्यामा रहेका लुटेराहरु मध्येमा यी दुई जनापनि संलग्न थिए ।
यी दुवै आरोपित महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ स्थित सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हातहतियार देखाई लुटेको थियो । यसैक्रममा घरमा रहेको सबैलाई आक्रमण तथा कुटपीट गर्दै ४० तोला सुुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, मोबाइल आइ–फोन थान १, नगद १ लाख ७५ हजार रुपैयाँ लुटपाट गरी लगेको थियो ।
यता प्रहरीले अनुसन्धान गर्ने क्रममा डकैती गर्ने मध्येका केही व्यक्तिलाई पहिचान गरी मंगलबार ३ बजेको समयमा रौतहटको गरुडाबाट शक्ती कपुर र अजयलाई पक्राउ गरेको थियो । पक्राउ परेका शक्ति कपुरको साथबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको थियो ।
पक्राउ परेका आरोपित दुवैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने छ ।