
खोजवाणी संवाददाता
जनकपुर, मंसिर १
आजदेखि छठ पर्व सुरु भएको छ । सामाजिक सद्भाव तथा भेदभाव रहित पर्वको रुपमा छठ पर्व प्राकृतिकको पर्वको रुपमा रहेको छ ।
सूर्यको उपासना गरी मनाइने छठपर्व चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइन्छ । छठको पहिलो दिन आज नहाय खाय विधिसँगै सुरु भएको हो । आज ब्रतालुहरुले स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।
पारिवार र सन्तानको सुख समृद्धिलगायतको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन अर्थात शनिबार ब्रतालुले खरना विधि मनाउँछ । यसमा प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् ।
त्यस्तै तेस्रो दिन आइतबार छठ पर्व मनाइन्छ । यस दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । भने चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा ब्रतालुहरुले चढाउने गर्छन् ।
अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबासमा बस्नुपर्ने हुन्छ । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने हुन्छ ।
मिथिला–मधेशसहित देशभरमा छठपर्वको तयारी तिव्ररुपमा भइरहेको छ । छठपर्वको पूजा सामग्रीको किनमेल गर्न ब्रतालुहरुको बजारमा निकै घुइँचो लाग्ने गरेको छ ।
छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइदैँछ । जनकपुरधामको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतका पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ ।