खोजवाणी संवाददाता
जनकपुर, मंसिर २

छठ पर्वको आज दोस्रो दिन । आज छठ पर्वको दोश्रो दिन खरना विधि गरि मनाइँदै छ । शुक्रबारबाट सुरु भएको छठ पर्वको खरनामा ब्रतालुहरूले नुहाएर चोखो भई साँझपख सख्खरको खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।

शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका ब्रतातुले कार्तिक शुक्ल पञ्चमीका दिन अर्थात आज दिनभर निराहार ब्रत बस्ने र राति सख्खरमा पकाइएको अरबा चामलको खीर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् ।

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ भने ब्रतालु तथा भक्तजनहरु रातभर जाग्राम बस्नुपर्ने हुन्छ ।

त्यस्तै सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिदैँ ब्रतालुहरुले कथा सुनेपछि छठपर्व सम्पन्न हुन्छ ।