खोजवाणी संवाददाता
जनकपुर, मंसिर ३

मिथिलाञ्चलमा दाजुभाइ–दिदीबहिनी बीच प्रेम र रक्षाको प्रतीकको रुपमा रहेको सामा–चकेवा पर्व भाइटीकाका दिनदेखि नै विधिवत रुपमा सुरु भएको छ ।

कार्तिक शुक्ल द्वितीया तिथि देखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिन्छ ।

यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका सांकेतिक मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिसम्ममा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गरिन्छ ।

काँचो माटोले बनाइएका मानव, चरा र जनावर लगायतका सांकेतिक मूर्तीलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाए(पोले)मा त्यसलाई ‘चकेबा’ भनिन्छ ।

किम्दन्ती कथा अनुसार भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । त्यसैले यस पर्वलाई सामाचकेवा पर्व भनिने गरिन्छ ।

यो पर्व मिथिलाञ्चलका मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गर्दछ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा कमी आउन थालिएको छ ।

पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिएको थियो ।

सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामा सहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाई दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया (सात भाई) भनिन्छ ।

त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रंगले रंग्याइन्छ ।

दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ, यो नै यस पर्वको सबैभन्दा रोचक विषय हो ।

त्यसैक्रममा आफूलाई चाहिएका सर–समान पनि गीतको माध्यमबाट सुनाउने, विकास तथा समृद्धिका लागि गीतकै माध्यमले दिर्घायू, श्रीसम्पती र खुसीयाली जिवनको लागि आग्रह सहितको विन्ती गरिने गर्छन् ।