
खोजवाणी संवाददाता
जनकपुर, मंसिर ४
उदाउँदो सूर्यलाई अर्घ्य दिदैँ छठ पर्व सम्पन्न भएको छ ।
रातभर जाग्राम बसेर घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई राखिएको पूजा सामग्रीहरूलाई दूधले चोख्याएपछि एकाविहानै ब्रतालुहरूले पूजा सामग्रीसहितका प्रसादहरु दिनकर दिनानाथ अर्थात् सूर्य भगवानलाई अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।
ब्रत बसेका ब्रतालुहरूले अर्घ्य दिएर जलासयबाट घाटमा फर्केपछि कथा सुनेर घर फर्केका छन् । पारिवारिक सुख, शान्ति, समृद्धि, सन्तान लाभ, शारीरिक कल्याण, रोगबाट मुक्तिलगायतका मनोकांक्षा पूरा होस् भन्ने कामना गर्दै निष्ठातथा श्रद्धापूर्वक छठ पर्व मनाइने गरिन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म अर्थात चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरूले नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ पर्व सम्पन्न हुन्छ ।
मिथिला–मधेसमा भव्यताका साथ मनाइने यस छठ पर्वमा ब्रतालुहरू ३६ घण्टासम्म निराहार ब्रत बस्छन् । यस पर्वमा ब्रत बस्ने ब्रतालुहरुले कडापूर्वक नियमको पालना गर्नुपर्ने बाध्यता हुन्छ । जसले गर्दा यस पर्वलाई महापर्व भन्ने गरेका छन् ।