गृह मन्त्रालयले कहिले पुरा गर्लान्, सात बुँदे माग

खोजवाणी संवाददाता
जनकपुर, मंसिर ४

सन्तानको सुख, समृद्धिलगायतका विभिन्न मानोकांक्षा पुरा गर्न विगत वर्ष आफ्नै गाउँघरमा बस्दै आएपनि आरतीकी आमाले छठ पर्व नछाडेपनि यसपटक भने उनी आफ्नै गाउँठाउँमा बस्ने सकिनन् ।

छोरी आरती साहको हत्या भएको भन्दै विरोधमा उनको परिवारजन न्याय माग्दै काठमाण्डौ स्थित माइतीघर मण्डलमा १ सय ५९ दिनदेखि धर्नामा बस्दै आएको छ ।

सडकमै छठ पर्व मनाएका आरतीका परिवारको माग अझैसम्मपनि पूरा भएको छैन । छोरीको हत्यारालाई जेल पु¥याउनका लागि छठी माई भन्दै ब्रतमा बसेकी बताउँदै आरतीकी आमा निर्मला देवी साह भन्छिन्, ‘देवीले सुन्छिन् कि भन्ने आशा छ ।’

माइतीघर मण्डलको चिसो भुइँमा दिनरात काट्दै आएकी उनी आस्थाको प्रतिकको रुपमा रहेको छठ पर्वमा उनले आफ्नो पीडा पोख्दै हत्यारालाई जेल पु¥याउनका लागि ब्रत बसिन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ की आरतीका माइती पक्ष न्यायको आसमा असोज १ देखि नै धर्नामा छन् । गत जेठ ६ मा दाइजोको निहुँमा आरतीको हत्या भएको माइतीपक्षले आरोप लगाउँदै आएको छ । स्नातक दोस्रो वर्ष पढ्दापढ्दै विवाह पछि पनि पढाउनुपर्ने सर्तमा उनको मोतीबाबु साहसँग विवाह भएको थियो । विवाह गर्नुअघि दाइजोको मागअनुसार आरतीका बुबा विनोद साहले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिएका थिए । केटा पक्षले लगाउने लुगादेखि गरगहनासम्मको खर्च आरतीकै बुबाआमाले बेहोर्नु परेको थियो ।

घटनापछि जेठ ८ मा आरतीको माइती पक्ष उजुरी गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेको थियो । तर प्रहरीले भने उजुरी लिन अस्वीकार गरे । त्यसपछि उनीहरू काठमाण्डौको माइतीघर मण्डलमा धर्ना बस्न आए । धर्नामा बसेको आज १५९ दिन हो ।

यता पीडकलाई धनुषा जिल्ला अदालतले थुनछेकको आदेश दिएको थियो । तर सो आदेश बदर गरिपाउँ भनी पीडक पक्षले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएपछि अदालतले पनि आरोपित दुवै जनालाई साधारण तारिखमा छोडि दिएको छ । त्यसपछि पीडित पक्षका तर्फबाट उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा असोज २६ मा मुद्दा दायर गरेको छ । मंसिर ६ बुधबार मुद्दाको पेसी पनि तोकिएको छ । पीडित परिवारले सासू रेणु र देवर रविसमेतलाई पक्राउ गर्न प्रहरीसमक्ष उजुरी दिँदासमेत कुनै प्रक्रिया अघि नबढाइएको पीडित पक्षको आरोपत छ । मुख्य आरोपित आरतीका श्रीमान् र ससुरालाई उच्च अदालतले साधारण तारिखमा छोडेपछि झन् पीडामा रहेको पीडित परिवारजनपक्षले जनाएको छ ।

‘आरती साहको हत्यारालाई थुनामा पठाउनुपर्ने, पीडित परिवारलाई यातना दिने धनुषाका प्रहरीलाई निलम्बन गर्ने, न्यायिक छानबिन समिति गठन गर्ने, माइतीघरको धर्नास्थलमा भएका सांघातिक आक्रमण तथा अनुचित पक्राउ तथा यातनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पोस्टमार्टम गलत बनाउने चिकित्सकमाथि कारबाही गर्नुपर्ने, जाहेरी दर्तामा निरुत्साहित गर्ने सरकारी वकिललाई कारबाही गर्नुपर्ने र लामो समय धर्ना बसेका पीडित परिवारमा शारीरिक अस्वस्थता र आर्थिक क्षति भएकाले क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने’

धर्नामा बस्दै आएपछि सरकारलाई समेत निकै दवाव परेपछि गृह मन्त्रालयले गत कार्तिक २० मा आरतीका परिवारलाई वार्तामा बोलाएको थियो । वार्तामा सहभागी भएका पीडित परिवारले सात बुँदे मागसहित पत्र बुझाएको थियो । जसअनुसार आरती साहको हत्यारालाई थुनामा पठाउनुपर्ने, पीडित परिवारलाई यातना दिने धनुषाका प्रहरीलाई निलम्बन गर्ने, न्यायिक छानबिन समिति गठन गर्ने, माइतीघरको धर्नास्थलमा भएका सांघातिक आक्रमण तथा अनुचित पक्राउ तथा यातनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पोस्टमार्टम गलत बनाउने चिकित्सकमाथि कारबाही गर्नुपर्ने, जाहेरी दर्तामा निरुत्साहित गर्ने सरकारी वकिललाई कारबाही गर्नुपर्ने र लामो समय धर्ना बसेका पीडित परिवारमा शारीरिक अस्वस्थता र आर्थिक क्षति भएकाले क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग रहेका छन् ।

गृह मन्त्रालयमा छलफल गरेर छिट्टै समस्याको सम्बोधन गरिने भनिएता पनि अहिलेसम्म कुनै जानकारी नआएको निर्मला देवी साहले बताइन् ।