खोजवाणी संवाददाता
काठमाण्डौ, मंसिर ४

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

दुवै पार्टी बीचमा पार्टी एकताका लागि भएको वार्ता सकारात्मकरुपमा अघि बढेको भन्दै पार्टी एकता वार्ता समितिको बैठकबाट एकताका लागि सहमति गरेपछि एकता हुने पक्कापक्की भएको हो ।

सो बैठकबाट पार्टी एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाका नेता गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी जनाएका छन् ।

सो बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझावसमेत दिएको छ ।

पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक तथा नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अघि बढ्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरिएको जनाइएको छ ।

स्रोतका अनुसार माओवादी केन्दसँग विप्लब नेतृत्वको नेकपासँग पनि पार्टी एकताका लागि सकारात्मकरुपमा आन्तरिक गृहकार्य अघि बढिरहेको छ ।