खोजवाणी संवाददाता
वीरगंज, मंसिर ५

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका नेता तथा पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका व्यवसायी रौनियार जसपा त्याग्दै एमालेमा प्रवेश गरेका हुन् ।

पर्साको पोखरीयामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी रौनियारलाई फुलमाला र टिकाटालो गरी रौनियारलाई पार्टीमा भित्र्याउँदै स्वागत गरेका हुन् ।

नेतासमेत रहेका व्यवसायी रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीबाट सयौँ नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रौनियारले जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेशका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाएका छन् । जसपामा मधेश र मधेशी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको दावी गरे ।

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।