खोजवाणी संवाददाता
जनकपुर, मंसिर ६
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले मानिसले स्वास्थ्य रहने नाममा आफुखुसी एन्टिबायोटिक औषधी प्रयोग गर्दा जोखिम बढ्दै गएको बताएका छन् ।
आज जनकपुरधाम स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक डा. मिश्रले मानव तथा पशुपंक्षीसमेतको स्वास्थ्यसँग खेलवाड भइरहेको भन्दै विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियानबाट चिकित्सकले लेखेर दिएको औषधी मात्रै प्रयोग गर्न आग्रह गरेका हुन् । उनले जथाभावीरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलेसमेत एन्टिबायोटिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।
निर्देशक डा. मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोड भन्दा बढी मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएकाले एन्टिबायोटिक औषधीको दुरुपयोगलाई कडाईका साथ रोक्नुपर्ने आवश्यकता रहेको औल्याएँ ।
उनले मानव स्वास्थमा स्वास्थ निको हुने भन्ने भ्रममा सामान्य भनसुनको आधारमा औषधी पसलबाट सहजैरुपमा एन्टिबायोटिक औषधी पाउनाले पनि मानवजिवनमा आउनेदिनमा दिर्घकालिन असर पर्ने र यसका कारण मृत्युसमेत हुनसक्ने भएकाले अहिले देखि सचेत बन्नु आवश्यकता रहेको बताए ।
उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीलाई ठुलो पार्ने नाममा पोल्ट्रीहरुलेसमेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए ।
एन्टिबायोटिक औषधीको प्रयोगको विधि नहुदाँ नेपालमा यसको दुरुपयोग बढी भइरहेको उनको भनाइ थियो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजिवकुमार झाले सहजैरुपमा औषधि पसलमा एन्टिबायोटिक औषधी भेटिनु नै मानवजिवनको मुख्य चुनौती रहेको बताए ।
निर्देशक डा. झाले अहिले देखि नै एन्टिबायोटिक प्रयोग न्युनिकरण गरिएमा मानवस्वास्थ्यका लागि आउने दिनमा स्वास्थ्य रहनेसक्ने दावी गरे ।
निर्देशक डा. झाका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीले रिपोर्टको कल्चरलको सुरुवाती गरेमा एन्टिबायोटिक औषधीमा कमी आउने र व्यवस्थितसमेत हुने छ ।