खोजवाणी संवाददाता
जनकपुर, मंसिर १८

धनुषाको औरही गाउँपालिका स्थित श्रीराम जानकी माध्यमिक विद्यालय झिट्कोहियामा प्रधानाध्यापकको लापरवाहीका कारण दर्जन भन्दा बढी शिक्षक तथा कर्मचारीले तलबबाट वञ्चित छन् ।

श्रीराम जानकी माध्यमिक विद्यालयका दुई दर्जन शिक्षक, शिक्षिका र कार्यालय सहयोगीसमेतले ८ महिनादेखि तलब तथा सेवा सुविधाबाट प्रधानाध्यापक मदनकुमार महराले तलब निकासमा रोक लगाएपछि वञ्चित हुनु परेको शिक्षकहरुले आरोप लगाएका हुन् ।

दरबन्दीमा नयाँ शिक्षक बद्रीनारायण यादवलाई ल्याएपछि उत्पन्न भएको विवादले गर्दा शिक्षकहरुले तलब पाउन नसकेको बताउँछन् ।
प्रधानाध्यापक महराकै आदेशमा शिक्षक बद्रीनारयाण यादवलाई विद्यालयमा हाजिर गराइएपनि पछि लेखापाल रामशंकर यादवमाथि विभिन्न आरोप लगाउँदै प्रधानाध्यापकले तलब निकासामा रोक लगाएको हो ।

त्यसपछि शिक्षक तथा कर्मचारीहरुलेसमेत ८ महिनादेखि तलबबाट वञ्चित हुनुपरेको दुःखेसो उनीहरुको रहेको छ ।

प्रधानाध्यापक महरालाई औरही गाउँपालिकाको कार्यालयले अन्यत्रै सरुवा गर्दै उनको ठाउँमा अन्यलाई प्रधानाध्यापक बनाउने कुरा थाहा पाएपछि उनी लेखापाल रामशंकर यादवसँगको रिसाउँदै औरही गाउँपालिकाले अन्यत्रको विद्यालयमा सरुवा गरेपछि उनी बिच्किएर शिक्षकहरुको तलब निकासमा अवरोध सृजना गरेको एक शिक्षकले बताए ।

शिक्षकहरुले लामोसमयदेखि तलब नपाउँदा औरही गाउँपालिकाको कार्यालयमा धर्नासमेत दिए । शिक्षकहरुले धर्ना दिएपछि औरही गाउँपालिकाले तलब निकासा अवरुद्ध गर्ने प्रधानाध्यापक महरालाई हटाएर ज्येष्ठताको आधारमा विद्यालयका शिक्षकलाई प्रधानाध्यापक बनाउने र तलब निकासा समेत हुने भन्दै योजना बनाएका थिए । तर शिक्षकहरुसँग सहमती गरेको करिब महिनादिन वित्दासमेत तलबसमेत पाउने अवस्था देखिएको छैन ।

औरही गाउँपालिकाका बोर्ड सदस्य सन्तोष ठाकुरका अुनसार शिक्षकहरुको तलब निकास तत्कालै हुने र यसका लागि पालिकाले पहलकदमी लिइसकेको छ । विद्यालयमा उत्पन्न भएको समस्यालाई समाधान गर्दै शिक्षकहरुको जायज माग पुरा हुन उनले बताए ।

औरही गाउँपालिकाले तलबका लागि विद्यालयको खातामा पठाएपनि प्रधानाध्यापक महराले भने रोक लगाएका छन् ।
प्रधानाध्यापक लेखापाल यादवमाथि फर्जी नियुक्ति लिएकोलगायतका आरोप लगाउँदै विद्यालयलाई लथालिंग बनाएको छ भने विद्यालयमा अध्ययनअध्यापन पनि प्रभावित बनेको छ ।

तर लेखापाल यादवले प्रधानाध्यापक महराले लगाएको आरोपलाई निराधार रहेको बताउँदै आफु नेपाल सरकारको स्थायी कर्मचारी रहेको बताए ।

शिक्षक र कर्मचारी गरी यस विद्यालयमा २२ जना छन् । उनीहरुले दशैँ, तिहार, छठलगायतका पर्वहरु सम्पन्न भएपनि हालसम्म तलब नपाउँदा घरमासमेत दयनिय अवस्था रहेको भन्दै केही महिनादेखि ऋण लिएर जिवनयापन धाउनुपरेको एक शिक्षकले दुखेसो पोख्ने गरेका छन् ।