खोजवाणी संवाददाता
जनकपुर, मंसिर ३०

विवाहपञ्चमीको अवसरमा रंगभुमि मैदानमा ११ हजार स्क्यावर फिट भन्दा ठुलो सीतारामको आकृति तयार भएको छ ।

जनकपुरधाम स्थित रंगभुमि मैदानमा तयार पारिएको सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि समेत निमन्त्रणा दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अनाजलाई सदुपयोग गर्ने बताए ।

नगरप्रमुख साहले एक सय क्वीन्टल भन्दा बढी अनाजको प्रयोग गरिएको चिन्ता व्याप्तरुपमा उठिरहेको भन्दै उनले हामीपनि गम्भीर चिन्तित रहेकोले यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए ।

उनले भने, ‘धार्मिक स्थलको रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृतिमा बनाउन अभिप्रेरित भएका हौँ ।’

उनले अघि थप्दैँ भने, ‘अनाजलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ, त्यसैले यस विषयमा नकारात्मक टिकाटिप्पणी भन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि आग्रह गर्दछौँ ।’

उनले भने, ‘यो प्रतिमा विश्व सम्पदाको सुचिमा ल्याउनका लागि पनि हामीले पहलकदमी लिइरहेको छौँ ।’

उनले सीतारामको प्रतिमा करिब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीले समेत सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने बताए ।

उनले सीतारामको प्रतिमा बनाउनका लागि संयूक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरुबाट रकम संकलन गरि काम गरेको समेत बताए ।

उनले सीतारामको आकृति बनाउनमा सतिश गुज्जर र गुनगुन मिश्रालाई विशेष धन्यवादसमेत दिए ।

May be an image of 15 people and crowd

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले शनिबारदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपिलसँगै निमन्त्रणा दिए ।

उनले ८० प्रतिशत अनाजको बर्बादी हुन नदिने योजना रहेको भन्दै उनले यस अनाजलाई सदुपयोग गरिने बताए । उनले बर्बाद हुनबाट बचेको अनाजलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै बितरण गर्ने योजना रहेको बताए ।

उनले सीतारामको आकृति बनाउने योजना डेढ महिना अघिको रहेकाले यसलाई पुर्णता दिनका लागि हामीले समेत पहलकदमी लिएको बताए ।

उनले यस सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपुर सहयोग रहेको बताए ।
निर्देशक तथा कलाकार सतिश गुज्जरले ११ हजार स्क्वायर फिटमा सितारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।

यस अघि भारतको उत्तर प्रदेश स्थित अयोध्यामा सीतारामको आकृति ८ हजार स्क्यावर भन्दा ठुलो बनाएर विश्व रेकर्ड बनाएको थियो । तर जनकपुरधाममा निर्माण गरिएको यस आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको छ ।