खोजवाणी संवाददाता
जनकपुर, पुस १७
धनुषाको एक स्थानीय तहमा घुससहित रंगेहात पक्राउ परेका जनप्रतिनिधि र कर्मचारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
७० हजार रुपैयाँ घुससहित पक्राउ परेका धनुषको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृतनारायण मिश्रलाई भ्रष्टाचार मुद्दामा शिवेष अदालतले दोषी ठहर गरेको हो ।
सडक निर्माणको कार्य सम्पन्न भएपछि भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरेको भन्दै एक सेवाग्राहीसँग वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले ७० हजार रुपैयाँ घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत जेठमा पक्राउ परेका वडाअध्यक्ष यादव र वडा सचिव मिश्रलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।
७० हजार रुपैयाँ घुस मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएपछि उनीहरुलाई चार देखि ६ महिनासम्म कैद सजाय हुने कानूनी प्रावधान छ ।