खोजवाणी
जनकपुर । केन्द्रमा सत्ता समीकरण फेरिएसंगै मधेश प्रदेशमा सबैभन्दा पहिला यसको असर देखिएको छ ।
केन्द्रमा नेपाली कांग्रेस–नेकपा एमालेले गरेको सत्ता समीकरणको निर्णयको कार्यान्वयन मधेश प्रदेश सरकारमा भएको फेरबदलले पुष्टि गरेको छ ।
सो कार्यान्वयन भएसंगै माओवादीलगायतको एमालेसंगको गठबन्धन भत्किएर नयाँ गठबन्धन अनुसार नेकपा माओवादी केन्द्रसहित चारदललाई मन्त्रिमण्डलबाट हटाएर मुख्यमन्त्री सतीशकुमार सिंहले कांग्रेस र एमालेको समर्थनमा विश्वासको मत प्राप्त गरे । सो अनुसार कांग्रेस, एमाले र लोसपा नेपालले मधेश प्रदेश सरकारमा सहभागिताका लागि मन्त्रालय बाँडफाँटमा व्यस्त भए छन् ।
जनमत, कांग्रेस, एमाले र लोसपासहित गठबन्धन मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सोको गृहकार्यमा शुक्रबारदेखि नै मन्त्रालय बाँडफाटमा व्यस्त छन् । तर कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि मुख्यमन्त्री सिंह अप्ठ्यारोमा परेका छन् । तर आज जसोतसो भए पनि मधेश प्रदेश सरकारको पुनर्गठन गर्ने आन्तरिक तयारी थालेको स्रोतले जनाएको छ ।
यता कांग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय आफूहरुले पाएको दाबी गरे पनि अहिलेसम्म मन्त्रीहरुको नाम भने आधिकारिकरुपमा टुंगो नलगाएको जनाएको छ ।
लोसपाले आफुहरुले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै भनिएको सपथग्रहण कार्यक्रम आइतबार पनि हुन सकेन । कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णकुमार यादवले चार वटा मन्त्रालय आफुहरुले पाएको भन्दै सोमबार दिउँसो सपथ गहण हुने दाबी समेत गरे । तर लोसपा नेपालका महासचिव परमेश्वर साहले आफुहरुलाई दुई वटा मन्त्रालय नदिएसम्म सरकारमा सहभागी नहुने बताए ।
महासचिव साहले अध्यक्ष महन्त ठाकुरको निर्देशन अनुसार नै हामी अघि बढ्ने समेत स्पष्ट पारे ।
उनले अहिलेको अवस्थामा रानीतिक सत्ता समीकरण कुनै पनि बेला परिवर्तन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यहाँ देखिएको परिस्थितिलाई समेत केलाउँदै हामीले दुई वटा मन्त्रालयमा दाबी गरे । उनले लोसपाको तर्फबाट रानी कुमारी तिवारी र जैनुल राइनको नाम मन्त्री बन्ने सम्भावित सूचीमा रहेको बताए । तर दुई वटा मन्त्रालय र कुन कुन मन्त्रालय आफुहरुले पाउने सो टुंगो लागि नसकेको हुनाले अहिले नै मन्त्रीका लागि नाम सिफारिस नगरिएको महासचिव साहको भनाइ छ ।
कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने आन्तरिक निर्णय गरिसकेको स्रोतले बताएको छ । स्रोतले जनाए अनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरु एक आपसमा छलफलकै क्रममै व्यस्त छन् ।
मुख्यमन्त्री सिंह भने आज जसरी भए पनि मन्त्रिमण्डल पुनर्गठन गर्ने योजनामा रहेको जनाइएको छ ।
गत जेठ २५ मा जनमत पार्टीका प्रदेश सांसद सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । सत्ता समीकरण बदलिएसँगै शनिबार मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअगावै माओवादी, एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ६ जना मन्त्रीलाई बर्खास्त गरेका थिए । नयाँ गठबन्धन अनुसार प्रदेश सरकारमा कांग्रेस र लोसपा सहभागी हुने छ ।
मन्त्रालय बाँडफाँट आज टुंगो लगाएर कांग्रेस र लोसपा दललाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको आन्तरिक तयारी छ । कांग्रेस र लोसपासहितका सत्तारुढ दलहरु मन्त्रालय बाँडफाँटका लागि लविंग भइरहेको नै छ । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले आफुहरु बीच चार मन्त्रालय पाउने मुख्यमन्त्री सिंहसंग सहमति भएको बताए पनि कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयको अडानलाई यथावतै राखेको छ । एमाले र जनमतले कांग्रेसलाई तीन र लोसपालाई एक मन्त्रालय दिएर सरकारमा सहभागी हुनका लागि दबाब दिँदै आएको छ ।