खोजवाणी

जनकपुर । कमला नदीमा फसेका छ जनाको उद्धार सशस्त्र प्रहरीले गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार बिहान साढे ११ बजे सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु स्थानीय ५५ वर्षीय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु नदीको बीच भागमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षाकर्मीको टोलीले ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको छ ।

त्यस्तै कल्याणपुर नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको छ ।

त्यस्तै धनुषाको कमला नगरपालिका–७ का ३० वर्षीय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको छ । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक र सह–चालक रहेको जनाइएको छ ।