खोजवाणी
काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई तिहाई भन्दा बढी विश्वास प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग गत असार १७ गते भएको सहकार्यको सहमतिको विस्तारित निर्णायक रुपमा शुक्रबार संसद्मा दुई तिहाई मतको रुपमा प्रकट गरेको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने क्रममा आफ्नो आगामी मार्गचित्रको प्रारम्भिक खाका पेस गरेका छन् । जसलाई लागू गर्नका लागि भन्दै उनले संसदमा विश्वासको मत मागेका थिए ।
उनले संविधान संशोधनका विषयमा भइरहेको आशंका र दुई दलीय सहमतिप्रति उठिरहेको आशंकालाई पनि स्पष्ट पारे । उनले गोप्य राखिएको भनिएको कांग्रेस एमालेकोबीचको सात बुँदे सहमति औपचारिकरुपमा सार्वजनिक गर्दै प्रतिनिधिसभामा वाचन गरे ।
सो क्रममा उनले अबको दुई वर्ष आफू र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको समेत बताए ।
संविधान संशोधनबारे विपक्षी दल लागायतको एउटा तप्काले आशंका भइरहँदा सत्तारुढ दलबीच भएको सहमति प्रतिनिधिसभामै सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले वाचन गरेर संविधान संशोधनबारे प्रस्ट्याए ।
प्रधानमन्त्री ओलीले भने, ‘संविधान भनेको असंशोधनीय विषय होइन । संविधान देश र जनताको हितको लागि साधन हो, साध्य होइन । आवश्यकताले संविधान, ऐन–कानुनमा संशोधन र परिमार्जन हुन्छ ।’
उनले अघि थप्दैँ भने, ‘संविधान संशोधन गर्नु पश्चगमन हो भन्ने कतिपयको भनाइ पनि सुनेको छु । आफूले भनेको कुरा नभए पश्चगमनको पोसाक लगाइदिने हाम्रो अचम्मको संस्कृति छ’, म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन ।’
’ब्याक गियर’ नलगाउने घोषणा गरेसँगै प्रधानमन्त्री ओलीले संविधान विकास गरेर लैजाने दस्तावेज भएको बताए ।
उनले भने, ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नु पर्ने कुरा के छ भने संविधान विकासको वाहक हुनुपर्छ, बाधक होइन । विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’