खोजवाणी
जनकपुर । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ ।

साउन शुक्ल तृतिया तिथिबाट शुरु हुने झुल्नोत्सव पूर्णिमासम्म जारी रहने छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको छ ।

यसका लागि जानकी मन्दिरदेखि विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ । रत्नसागर मन्दिरको झुला नाच सबैभन्दा बढी प्रसिद्ध रहेको रत्नसागरका महन्त वैकुण्ठ दास वैष्णवले बताए । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरुको साँझ पर्ने बित्तिकै भीड़ लाग्ने गर्दछ उनको भनाई रहेको छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ ।

यसरी सुरु भयो झुल्नोत्सव

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गरेको इतिहास छ । सुरकिशोरको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवात समेत भएको थियो । सुरकिशोरले माता जानकीलाई पुत्री मान्दथे । उनले कहिलेकाहीँ जानकीसँग कुराकानी गर्ने गरेको र माता जानकीको सल्लाहमा आदी महन्त सुरुकिशोरले यस उत्सवको प्रारम्भ गरेको धार्मिक विश्वास छ । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ ।

सावनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल हिडोला
झहरय नभ घनघोर

धार्मिक पृष्ठभूमीमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन गरे झुलाको प्रारम्भ भएको मानिन्छ ।
साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारी मुनि बास बसेर पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् ।

झुलाको आकर्षण मिथिलाञ्चलमा धानको रोपाइँ समाप्त हुना साथ झुला उत्सव शुरु हुने गर्दछ । यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्ता धार्मिक महत्व झल्किने गीतहरु कर्णप्रिय आवाजका रुपमा सुनिन्छ ।

यस झुल्नोत्सवमा युवती सबै झुलाको गीत गाउने र भगवानको पूजाअर्चना गरेपछि श्रद्धालु भक्तजनलाई पूmलपाती पञ्चामृत र नैवेद्य बाड्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभर झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटेर विधिवत् रुपमा सम्पन्न गरिदै आएको छ ।

जनकपुरधामसहित मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर र राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहँदै आएको छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा सीता रामको मूर्ती राखेर झुलामा झुलाइने धार्मिक परम्परा रहँदै आएको छ ।