खोजवाणी 
जनकपुरधाम ।
मधेश केन्द्रित चार दल सम्मिलत संयुक्त मधेस संघर्ष समितिले यही भदौँ ३१ गते जनकपुरधाममा खबरदारीसभा आयोजना गर्ने भएको छ ।
जनकपुरधाममा सम्पन्न सो समितिको बैठकबाट भदौँ ३१ मा खबरदारी सभा आयोजना गर्ने निर्णय भएको तराई मधेस लोकतान्त्रिक पार्टीका प्रचारप्रसार विभाग प्रमुख उमेश मण्डलले जानकारी दिए ।
तमलोपाका प्रचार विभाग प्रमुख मण्डलले संयुक्त मधेस सङ्घर्ष समितिले संविधान संशोधनको विषयमा अहिले भइरहेको चर्चाको विषयमा खबरदारी सभा आयोजना गर्न लागिएको बताए  ।
नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धन सरकारले संविधान संशोधन गर्ने भनिरहेको छ । सो संविधान संशोधनले साना दल तथा सीमान्तकृत समुदायलाई हित नगर्ने बताउँदै संयुक्त मधेस संघर्ष समितिले सुरुमै खबरदारी गर्न लागेको उनले बताए ।
संविधान संशोधन सीमान्तकृत समुदायको हितमा हुनुपर्ने र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि खबरदारी सभा गर्न लागिएको मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष जगतप्रसाद यादवले बताए ।
त्यस्तै प्रदेशहरूलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरूको सीमांकनमा पहिचान आधारित सुधार, अनुचित थ्रेसहोल्डको समाप्ति, प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रियसभाको भूमिकामा अझ मजबूती, संघीय संरचनामा प्रादेशिक स्वशासनको सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरूको मान्यता, भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मागलाई समितिले अघि जनाएको छ ।