हिरासतबाट फरार भएको घटनाको सुक्ष्म अनुसन्धान हुँदै

खोजवाणी
जनकपुरधाम ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परे पनि दुई जना भने फरार छन् ।

लागूऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ स्थित देवपुरा रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ स्थित गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका छन् ।

उनीहरुलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जनाए । यसअघि सोमबारै लखौरीबाट लागूऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।

राति भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट सोमबार विहानै पक्राउ परेका थिए । आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर उनीहरु फरार भएका थिए ।

अझै धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखियालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको ।

त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । गुरुङले बताए अनुसार समितिलाई १५ दिन म्याद दिइएको छ ।

प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दिपक भारतीले घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिने बताउँदै प्रदेश प्रहरीले पनि छानबिन समितिगठन गरेको बताए ।

घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेशनको रड ह्याक्सो ब्लेडले काटेर थुनुवा फरार भएको छ ।