खोजवाणी
जनकपुरधाम । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले अराजकता मचाएको आरोप हिसानले लगाएको छ ।
‘मेरो शिक्षा मेरो प्रश्न’ अभियानको नाममा नेवि संघ धनुषाले सूचना माग्ने नाममा अराजकता मचाइ रहेको निजी क्याम्पसहरुको संगठन हिसानले आरोप लगाएको छ ।
हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले सूचना माग्नु राज्यको हरेक नागरिकको अधिकार हो । तर अराजक रुपमा नभई प्रक्रियागत रुपमा माग्नका लागि आग्रह समेत गरेका छन् । गत केही दिनदेखि विभिन्न प्लस टू निजी क्याम्पसमा गई सूचना माग्ने नाममा जुन रुपमा प्रस्तुत भइरहेको छन् त्यो सूचना माग्ने प्रक्रिया नभई अराजक गतिविधि रहेको उनले भने ।
उनले भने, ‘हामीहरुको यहाँको अभिभावकीय निकाय स्थानीय तह (जनकपुरधाम उपमहानगरपालिका) हो । हामी उच्च मावि तहका निजी क्याम्पसहरुले लिइरहेको शुल्कदेखि लिएर छात्रवृति र विद्यार्थी संख्याको विवरण उपलब्ध प्रत्येक वर्षमा बुझाउंदै आएका छौं । त्यहाँबाट सहज ढंगबाट लिन सकिन्छ ।’
‘त्यहाँबाट लिखित स्वीकृति लिएर आएमा दिन सक्छौँ । नभए राष्ट्रिय सूचना आयोगको प्रक्रियामा आएर विधिपूर्वक हामी सूचना उपलब्ध गराउनेछौं । शुल्क वा छात्रवृति यतिकै लिनु भन्ने दबाव दिनु उनीहरुको अधिकार होइन । आपत्ति छ भने सम्बन्धित निकायमा गएर गुनासो गर्न सक्छन्,’ उनले अघि थप्दैँ भने ।
तर त्यसो नगरी बिना कुनै जानकारीको एक्कासी क्याम्पसहरुमा प्रवेश गरी सूचना लिने नाममा यतिकै शुल्क, यति विद्यार्थीलाई छात्रवृति दिनु लगायतका धाकधम्की दिनु, विद्यार्थीलाई जानकारी गराउने बहानामा बिना इजाजत कक्षा कोठामा गई पढाई बाधित गरेर त्रासको वातावरण बनाउनु गलत हो रहेको उनको भनाइ छ ।
अध्यक्ष ठाकुरले थप्दै भने काठमाडौ लगायतका क्षेत्रमा विद्यार्थी यहाँबाट जान बन्द भएपछि त्यहींबाट यहाँ भाँडभैलो मचाउन रणनीति रहेको हिसान धनुषालाई लागेको छ ।
अध्यक्ष ठाकुरले भने नेपाल विद्यार्थी संघको गठन त्रिभुवन विश्वविद्यालय अन्तर्गत र त्यसको आंगिक क्याम्पसको पठन पाठन सुधारका लागि भएको हो, न कि निजी क्याम्पसहरुमा शुल्क र छात्रवृति लिस्ट माग्दै हिंड्ने । अहिले त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसहरुमा बिबिए लगायतका संकायमा तीन÷साढे तीन लाख रुपैया शुल्क लिइरहेका छन् । बिबिएसमा एडमीशन र परीक्षा शुल्कको नाममा मात्रै हजारौ हजार रुपैया शुल्क लिइरहेका छन् । त्यसमा चासो नलिई निहित स्वार्थ पूरा गर्न निजी क्याम्पसमा भाँडभौलो मचाउनु नेवि संघको नियत शंकास्पद देखिएको छ ।
त्यस्तै मीट क्याम्पसका संस्थापक संचालक मनोज साहले पनि सूचना माग्ने नाममा नेवि संघका पदाधिकारीहरुले अराजकता मचाएको आरोप लगाए । उनले सूचनाको नाममा गलत ढंडले प्रस्तुत भएर धाक धम्की दिएको आरोप पनि लगाए । उनले सूचना माग्न कसैलाई पनि हामीले रोकेका छैनौं । तर नेवि संघको सूचना माग्ने प्रक्रिया गलत रहेको छ । उनले भने, ‘हामीहरुको अधिकारिक निकाय स्थानीय तहबाट सहज रुपमा तिनीहरु सूचना पाउन सक्छन् । तर त्यहाँ नगई बिना कुनै सूचनाको एक्कासी क्याम्पसमा आएर अराजक ढंगले प्रस्तुत गलत कुरा हो ।’
उनले भने, ‘हरेक सूचना सबैलाई दिन मिल्दैन केही संवेदनशील र गोप्य पनि हुन्छ । विद्यार्थीको नामावलीसहित अभिभावकको विवरण दिनु तिनीहरुको गोपनीयता हो । भोलीको दिनमा ती सूचनाको दुरुपयोग भयो भने कसले जिम्मेवारी लिने प्रतिप्रश्न गरेका छन् । यदि उहाँहरुलाई शुल्कमै आपति छ भने उच्च मावि तहका अधिकारिक निकाय स्थानीय तह हो । त्यसले ग्रेड निर्धारणको माध्यमबाट जुन दररेट निर्धारण गर्छन हामी त्यसै अनुरुप लिन्छौँ ।’
नेवि संघका कार्यकर्ताहरुले जनकपुरधाममा आएर शुल्क बढी लियो भने फिर्ता र समोजन गर भनी धाक धम्की दिइरहेका छन् । तर काठमाडौमा कक्षा ११ र १२ को अढाई लाख रुपैयासम्म शुल्क लिइरहेका छन् । त्यहाँ गएर किन बोल्दैनन् प्रतिप्रश्न गर्दै साहले भने हामीहरु नेपालभरिमै सस्तो दरमा पढाइरहेको अवस्थामा यहाँ आएर अराजकता मचाउनु न्यायोचित भएर यसप्रति सम्बन्धित पार्टी र संगठनले पनि चासो लिन जरुरी रहेको छ ।
नेवि संघका पदाधिकारीहरुले हाल मेरो शिक्षा, मेरो प्रश्न भन्ने अभियान अन्तर्गत जनकपुरधाम क्षेत्रका नेवि संघले मिट क्याम्पससहित मोडल क्याम्पस, मोनाष्टिक क्याम्पस र राजर्षि क्याम्पसमा सूचना माग्ने नाममा प्रवेश गरिसकेका छन् ।निजी क्याम्पसहरुमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको संख्या विवरण, पूर्ण छात्रवृति विवरण र क्याम्पसहरुले लिइरहेको शुल्क बारे सूचना मागि रहेका छन् । सूचना माग्ने तिनीहरुको प्रक्रियाप्रति मीट लगायत सबै क्याम्पसले आपति जनाएका छन् ।



