खोजवाणी
जनकपुरधाम ।
बुधबारदेखि तीन दिनसम्म परेको अविरल वर्षा बाढीको कारण सिरहा, धनुषा र सिन्धुलीमा व्यापक क्षति भएको छ । धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा, धनुषा र सिन्धुलीमा व्यापक क्षति भएको छ ।
अविरल वर्षाका कारण धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले कमला नगरपालिका, सबैला नगरपालिका, सिरहाको कल्याणपुर नगरपालिका, सिरहा नगरपालिकाको विभिन्न स्थानमा क्षति पु¥याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ ।
धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको वाल भत्किनुको साथै आरसिसि वालसमेत भत्किएको आयोजनाले जनाएको छ ।
त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छ भने सोही नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कडदेखि फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ ।
कमला नदीमा आएको बाढीको कारण सबैला नगरपालिका वडा नम्बर ४ स्थित पटेर्वादेखि सबैला नगरपालिका– १३ स्थित ढोलबज्जासम्मको नदीले कटान गरेको छ ।
त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित भेडिया–भोक्राहामा तटबन्ध नजिक कटान गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित चिकना–निर्दना स्थित तटबन्ध नजिकको कटान गरेको छ । भने चत्तरीमा तटबन्ध नजिक कटान गरेको छ ।
बाढीका कारण सिरहा नगरपालिका– ५ स्थित मानपुरमा स्परको लन्चिंग तथा आरसिसि पाइल बगाएको छ । सिरहा– १७ स्थित पटेर्वादेखि कल्याणपुर नगरपालिका– ७ स्थित भेडिया सम्मसमेत बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका– २ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छ भने दुधौली नगरपालिका ९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।
