खोजवाणी
जनकपुरधाम ।

मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता छन् । अन्य ८ जना घाइते र बाढी र डुबानका कारण पाँच सय जना विस्थापित भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २\२ जना पुरुष र सप्तरीमा एकजना पुरुषको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराले बताए ।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया परियार रहेका छन् ।

९ वटा चौपाया समेत मरेका छन् । सो बाढी र डुबानका कारण ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएका छन् ।

त्यस्तै पाँचसयजना मानिस बाढी र डुबानबाट विस्थापित भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।