खोजवाणी
जनकपुरधाम ।
यस वर्षको बडादशैँ आजदेखि जनकपुरधाममा पनि सुरू भएको छ ।
बडादशैँको पहिलो दिन आज घरघरमा विधिवत रुपमा दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा, दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाआजको आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दशैँघरमा विधिपूर्वक राखेर सो माथि जौँ रोप्ने गरिन्छ । सो जौँ अर्थात जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
आजैको दिनदेखि विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी सोही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भनिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।
घटस्थापनाको साइत आज बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुल प्रसादका रूपमा ग्रहण गरिन्छ ।
दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गर्ने परम्परा रहेको छ । यसक्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्राभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिहरूको पाठ पारायण पनि गरिन्छ ।