खोजवाणी
हेटौँडा ।

भारतबाट जनकपुरधाम हुँदै पथलैयाबाट हेटौँडाबाट काठमाण्डौतर्फ करोडौँको सुन लिएर जादैँ गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट करोडौँको सुनसहित दुई जनालाई प्रहरीले पक्रउ गरेको हो ।
जिल्लाको हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीले जनाए अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको छ । सो परिमाणको सुन सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाए ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।

प्रहरी उपरीक्षक खड्काका अनुसार असोज १९ गते बिहानको ३ः०० बजेतर्फ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो ।
शंकाका आधारमा स्कुटर रोकी चेकजाँच गर्दा बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

आरोपितहरुले टेपको सहायताले बाँधेर शरीरमा रुमाले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको उनले बताए ।
खड्काका अनुसार उनीहरूले जनकपुरधामबाट सुन लिएर पथलैयासम्म बसबाट आएका थिए ।

पथलैयाबाट भने उनीहरू स्कुटरमा हेटौँडा तर्फ आउँदै गरेका थिए । उनीहरुले काठमाण्डौको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनको भनाइ छ । बरामद भएको सो सुन र पक्राउ परेका आरोपित कुटी र बाडलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने उनले बताए ।