खाजवाणी
जनकपुरधाम ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले जनताको समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बाढी र पहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक गर्नुपर्ने सुझाव दिँदै वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भने, “अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ ।”

बाढीपहिरो जस्ता विपद्बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले भने, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुनसक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।”

मधेश प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेका बताउँदै अध्यक्ष नेपालले पार्टीका जिल्लाजिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको बताए । अध्यक्ष नेपालले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।