खोजवाणी
जनकपुरधाम ।

तिथिमिति हेरफेरका कारण यस पटक जनकपुरधाममा विगतभन्दा बेग्लै किसिमले बडादशैँको साइत जुरेको छ ।

विजया दशमीको अवसरमा एकै दिनमा बेलतोडी, खोइँछ भराइँ र बोकाबली प्रदान हुने भएको छ ।

जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा एकैदिन बेलतोडी, खोइँछ भराइँ र बोकाबली पनि प्रदान हुने भएको छ । सप्तमी तिथि रहेको अष्टमी तिथि पनि बेलुका सोही दिन पर्ने भएकाले बोकाबली गर्ने निणर्य गरिए अनुसार बली प्रदानको कार्यक्रम रहेको महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

अध्यक्ष गुप्ताका अनुसार राजदेवी मन्दिरमा आज बेलुका साढे ६ बजेदेखि बोका बली प्रदान हुने छ । मिथिला पञ्चांगका अनुसार सो दिन सप्तमी तिथि रहे पनि बेलुका अष्टमी तिथि सुरु भएर त्यसको भोली पल्ट बिहानसम्म मात्रै अष्टमी तिथि रह्ने छ ।

तिथिकै हेरफेरका कारण बोकाबलीका लागि असोज २४ गतेकै मिति राख्ने निर्णय गरिएको उनले स्पष्ट गरे । अध्यक्ष गुप्ताले बुधबार बिहानसम्ममा बोका बलीका प्रदानका लागि आठ हजारभन्दा बढीले रसिद काटिसकेको अनुमान गरे । अहिले नै यकीन गर्न कठिनाइ भए पनि विगतको तुलनामा यस पटक १७ हजारभन्दा बढी बली प्रदान हुने उनले दाबी गरे ।

आज साँझ सात बजेदेखि २ बजेसम्म बली प्रदानको कार्यक्रम रहेको उनले बताए ।

उनले यसपटक विगतभन्दा बढी भक्तजनले बली प्रदानका लागि रसिद कटाउने भएकाले अलग अलग स्थानमा विभिन्न युवा कमिटी तथा जिम्मेवार पदाधिकारीले रसिद काट्ने गरेको बताए । गत वर्ष १५ हजार २५१ बोकाको बली प्रदान गरिएको थियो भने यस पटक सोभन्दा बढी बली प्रदान हुने उनको भनाइ छ ।

सो बोका बली प्रदानका लागि जनकपुरधाम उपमहानगरपालिकाले १५ हजारभन्दा बढी बोरा व्यवस्थापन गरेको उनले बताए । सो बोरामा बली प्रदान गरिएको बोका राखेर व्यवस्थित रुपमा लैजाने छ । र यसले राजदेवी मन्दिर वरिपरिको फोहार व्यवस्थापनमा समेत सहज हुने उनको कथन छ ।