जनकपुरधाम ।

धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरका कारण उत्पन्न समस्याको समाधानका लागि भोली अर्थात मंगलबार सर्वपक्षीय बैठक बस्ने भएको छ ।

नगराईनमा आइतबार जनप्रतिनिधि र नगराईन अगुवा युवा समूहबीच भएको सहमति अनुसार कार्तिक २७ गते मंगलबार मेयर, उपमेयर, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय युवाहरुको सहभागिता रहने गरी सर्वपक्षीय बैठक मंगलबार बस्ने सहमति भएको समूहका संयोजक आदर्श मण्डलले जानकारी दिए ।

नगराईनका उपमेयर राधादेवी यादवले मेयर विनयकुमार यादवले सहमति कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भएको बताउँदै आएकी छन् ।

उपमेयर राधादेवी यादवले नगराईन नगरपालिकाको बजेट आफूले समेत चलाउन पाउनुपर्ने भन्दै पाँच महिनादेखि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाको सम्पूर्ण कामकाज नै ठप्प पारेको छ ।

जसबाट सेवाग्राही मात्र नभई शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थीलगायत सबैलाई समस्या भएको छ ।

सम्पूर्ण कामकाज ठप्प हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत नगराईन अगुवा युवा समूहले केही दिन अघि प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्रसमेत पठाएका थिए ।

स्थानीयस्तरमा युवाहरुले नगराईन नगरपालिकाको समस्या समाधानका लागि सबै पक्षलाई दबाब सृजना गरी तत्काल अत्यावश्यक रुपमा रहेको विद्यालयमा पठनपाठन सुचारु, वडामा ठप्प रहेको स्वास्थ्य सेवा सुचारु र सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने भन्दै आइतबार उपस्थित जनप्रतिनिधिहरुसंग गम्भीर रुपमा छलफल गरेका थिए ।

सो छलफलपछि भोली बैठक बसेर समस्या समाधान गर्ने निर्णय भएको समूहका संयोजक मण्डलले बताए । छलफलमा सहभागी भएका नगराईन नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामप्रमोद राउतले नगराईन नगरपालिका सञ्चालनका लागि मेयर गम्भीर नहुँदा आजको स्थिति सृजना भएको भन्दै उनले उत्पन्न समस्या समाधानका लागि आफूहरु गम्भीर भएको बताए ।

मंगलबार बस्ने सर्वपक्षीय बैठकबाट जनताको अत्यावश्यक कामकारबाही सञ्चालन हुनुपर्ने आफूहरु स्पष्ट रहेकाले तत्काल नगरपालिकाको कार्यालयको कामकाजका लागि मेयर समेत गम्भीर हुनुपर्ने उनले बताए ।

नगराईन नगरपालिकाको कामकाज ठप्प हुँदा सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिका, स्वास्थ्यकर्मी, कर्मचारीहरुसमेत आन्दोलनमा उत्रिदा करिब १ महिनादेखि विद्यालय र स्वास्थ्य चौकी पूर्णरूपमा ठप्प हुँदा सेवाग्राहीलाई सास्ती भोग्न बाध्य छन् ।
मेयर–उपमेयरबीचको लडाईका कारण विद्यार्थीहरूको शिक्षा पूर्णरुपेण प्रभावित भएको छ ।स्थानीय नागरिकहरू स्वास्थ्य सेवा लिनबाट समेत वञ्चित हुनु चिन्ताजनक रहेको भन्दै तत्काल नगराईन नगरपालिकाको समस्या समाधानका आफूहरुले पहलकदमी लिएको समूहका संयोजक मण्डलले बताए ।

सो बैठकमा नगराईन अगुवा युवा समूहका संयोजक मण्डल, सहसंयोजक विश्वनाथ साह, अमित कुमार पण्डित, मो.सुमानी साह, भविष्ण कुमार साह, धनवीर साह ‘क’, धनवीर साह‘ख’लगायतकाहरुको सहभागिता रहेको थियो ।