
जनकपुरधाम ।
नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोले इतिहास रच्ने टोलीको नेतृत्व गर्न पाउँदा गर्व लागेको बताएकी छन् ।
यू–१९ महिला टी २० विश्वकपमा पहिलो पटक छनोट भएर स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै महतोले यस्तो बताइन् ।
उनले नेपाली महिला क्रिकेट टोलीले आईसिसी यू–१९ महिला क्रिकेट विश्वकपमा स्थान बनाउनु निकै खुसीको कुरा भएको बताइन् । क्याप्टेन महतोले नेपाली टोलीको कप्तानी गरेर खेल्न पाउँदा गर्वको महसुस भएको बताइन् ।
त्यस्तै टोलीकी उपकप्तान सोनी पाख्रिनले सबैको मेहेनतका कारण विश्वकपमा पुग्ने लक्ष्य पूरा भएको बताइन् ।
दुबईमा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो ।
नेपालले आगामी वर्ष जनवरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकप खेल्ने भएको छ । यस्तै त्यसअघि नेपालले आगामी डिसेम्बरमा एसीसी यू–१९ महिला एसिया कप खेल हुने भएको छ ।