जनकपुरधाम ।
मधेशका तीनजना महिला क्रिकेटर प्रदेश सरकारले सम्मान गर्ने भएको छ ।
आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका तीनजना खेलाडीहरुलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गर्ने जनाएको छ ।
आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेकाले तीन नै जना क्रिकेटरलाई सम्मानित गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्णय गरेको छ ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार रुपैयाँ नगदसहित तीन जनलाई सम्मानित गर्ने मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए । त्यस्तै प्रदेश सरकारले तीनजना खेलाडीका बुबा आमालाई पनि खाँदा ओढाएर सम्मान गर्ने जनाएको छ । राष्ट्रिय टोलीकी क्याप्टेन पूजा महतो, सना प्रवीण र अलिशा कुमारी यादव मधेश प्रदेशका खेलाडी हुन् ।
क्रिकेट खेलमा नेपालले यूएईलाई पछि पार्दै आउँदो जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा खेलमा सहभागी हुनेछ ।
