
जनकपुरधाम
सशक्तिकरण तथा लैंगिक समानताका लागि महिलालाई आत्मनिर्भर बनाउनका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ ।
जनकपुरधाममा आइतबार वित्तीय शिक्षा प्रवद्र्धन र महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टको आयोजनामा महिलाहरुलाई एक दिने तालिम दिइएको छ ।
महिलाहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्यकालागि लक्षित गरेर उनीहरूको जीवनको गुणस्तरमा योगदान पुर्याउने गरी तालिम दिइएको मिडिया हाउस नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्टका निर्देशक उज्वलराज गौतमले जनाए ।
महिलालाई वित्तीय साक्षरताले खर्च गर्ने बानी, लगानी, आवश्यक्ता र चाहनाबीचको भिन्नतालाई कसरी परिवर्तन गर्छ भन्ने विषयमा जानकारी दिइएको उनले बताए । तालिममा महिलालाई डिजिटल वित्तीय माध्यमबारे जानकारी दिइनुका साथै आफ्ना वित्तीय स्रोत, बचत, लगानी र सुरक्षित गर्ने उद्देश्यले बैंक खाता खोल्ने विधि बारे प्रशिक्षकहरु विनोद अधिकारी र सहनशिला शर्माले प्रशिक्षण दिएका थिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले फुर्सदिला महिलाहरुले घरमै बसेर पनि रकमको बचत कसरी गर्न सकिन्छ भनेर ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए ।
उनले अहिलेका युवा पुस्ता सामाजिक सञ्जालमा समय खेर फालिरहेको समयमा यस प्रकारको तालिमले आर्थिक रुपमा सम्पन्न हुनकालागि ज्ञान आर्जन गर्न सहायक साबित हुने बताए ।
तालिम आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य संघले सहकार्य गरेको थियो भने एभरेष्ट बैंकले सहयोगमा भएको थियो ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष रिंकु साह, जउवा संघको पूर्व सदस्य धर्मेन्द्र साह, एभरेष्ट बैंकका शाखा प्रबन्धकद्वय विक्रान्त शर्मा तथा संजीवकुमार ठाकुरको उपस्थितिरहेको थियो ।